Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाले मानवतावादी नयाँ विश्व व्यवस्थामा जान झक्झक्याएको छ : प्रधानमन्त्री ओली


    मंगलबार, असोज २७ २०७७
    705
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरण  र यसको सामना गर्न सरकारले निश्चित लक्ष्य, उद्देश्य, नीति र कार्य योजना बनाएर काम गरिरहेको बताएका छन् । विपद् जोखिम न्यूनीकरण अन्तरराष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले व्यापक जागरण, साझा प्रयास र शक्ति सङ्गठित गर्दै तीनै तह सरकारले  कार्यायोजना बनाएर अघि बढिरहेको स्पष्ट पारे ।

    प्रधानमन्त्री ओलीले भने, ‘रोक्नै नसक्ने प्राकृतिक प्रकोपप्रति सजगता राख्दै मानव गतिविधिले उत्पन्न गरेको जोखिम न्यूनीकरण गर्न समस्या उत्पत्तिका कारण पहिचान गरी काम गरिने छ । भूकम्पछिको पुनःनिर्माणको कामलाई सफलतापूर्वक अघि बढाएकै कारण ९० प्रतिशतमा सफलता मिलेको हो । अब हामीले बनाउने आवास, कार्यालय र सम्पदा सुरक्षित हुन भन्नेतर्फ पूर्ण सचेत हुन आवश्यक छ ।’ 

    विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चद्वारा आयोजित कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमणपछिको अवस्थाले सबैलाई मानव जाति र समाजको सम्बन्धलाई देशको सीमाभन्दा माथिबाट बुझ्न र एकअर्काको भविष्य कति अन्तरसम्बन्धित छ भन्ने सन्देशसहित सामूहिक मानवतावादी नयाँ विश्व व्यवस्थातर्फ जानुपर्ने कुरालाई झकझक्याएको बताए । 

    प्राकृतिक विपत्तिको सामना गर्ने काममा लाग्न सम्पूर्ण तह र तप्कालाई आग्रह गर्दै उनले विपद् जोखिम न्यूनीकरण र सामना गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग मिलेर काम गरिने प्रतिबद्धता व्यक्त गरे ।

    दिवसको यस वर्षको मूल नारा ‘विपद् जोखिम न्यूनीकरणमैत्री सुशासन, सुरक्षित भविष्यका लागि हाम्रो अभियान’ छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार