काठमाडाैं । लामाे समयदेखि बन्द रहेकाे डोटीको दिपायल विमानस्थल यही असोज ३० गते शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । यो विमानस्थलमा हाललाई दिपायल–धनगढी रुटमा समिट एअरको विमानले उडान गर्ने भएको हो ।
असोज ३० गते शुक्रबार १८ जना यात्रु बोक्ने क्षमताको समिट एअरको विमान बिहान १०ः३० बजे धनगढीबाट दिपायल आउने र दिपायलबाट ११ः३० बजे धनगढीका लागि उड्ने तालिका रहेको विमानस्थल श्रोतले जनाएको छ ।
दिपायल–धनगढीको भाडा ३ हजार २ सय निर्धारण गरिएको छ । डोटीमा २०७० सालमा संविधान सभा सदस्यका रुपमा प्रेम आले निर्वाचित भएपछि कच्ची रहेको दिपायल विमानस्थल कालोपत्रेका लागि पहल गरेर स्तरोन्नती गरिएपछि उडान सञ्चालन गर्न लागिएको हो ।
गत हप्ता मात्रै पर्यटन मन्त्री योगेश भट्टराईले उक्त विमानस्थलको निरीक्षण गरेका थिए । कालोपत्रे सम्पन्न गरेर उडान शुरु हुन लागेको भन्दै प्रतिनिधि सभा सदस्य आले मगरले डोटीका जनतलाई यसले धेरै राहत दिने बताए ।
वि.सं. २०३० सालबाट सञ्चालनमा आएको दिपायल विमानस्थल बन्द भएको करिब डेढ दशकपछि सञ्चालनमा आउन लागेको हो ।