Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महानगरको १५ करोड अनुदानमा पशुपतिमा तीन शवदाह यन्त्र निर्माण हुने


    सोमबार, असोज २६ २०७७
    635
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक अनुदानमा पशुपति क्षेत्र परिसरमा थप तीनओटा विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ ।

    काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले आज वडा नम्बर–१४ को कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर पार्क’को शिलान्यास गर्ने क्रममा यस्तो बताएका हुन् । ‘काठमाडौँ महानगरपालिका सम्पदा संरक्षण, पार्क तथा हरियाली प्रवर्द्धनसँगसँगै पूर्वाधार निर्माण र सामाजिक कार्यक्रमा पनि उत्तिकै सक्रिय छ,’ शाक्यले भने, ‘अब छिट्टै काठमाडौं महानगरपालिकाको करीब १५ करोेडको आर्थिक अनुदानमा पशुपति क्षेत्र परिसरमा थप ३ वटा विद्युतीय शवदाह यन्त्रसहित एउटा गृहको निर्माण कार्य अघि बढ्ने भएको छ ।’

    प्रमुख शाक्यले केही दिनमै पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरी निर्माण कार्यको थालनी हुने जानकारी दिए । ‘हामीले दुई–तीन चरणका छलफल सम्पन्न गरिसकेका छौँ,’ शाक्यले भने, ‘अब सम्झौताको चरणमा पुगेका छौँ । काठमाडौँ महानगरपालिकाले बजेट र नीति तथा कार्यक्रममा समेत पशुपति क्षेत्र परिसरलगायतका स्थानमा विद्युतीय शवदाह यन्त्र र गृह निर्माण गर्ने कुरालाई समावेश गरेको छ । त्यसै अनुरुप हामीले पहिलो चरणमा पशुपति क्षेत्र परिसरमा निर्माण गर्न लागेका हौं ।’

    शाक्यले पशुपति क्षेत्रमा थप तीनओटा विद्युतीय शवदाह यन्त्र निर्माणपछि त्यहाँ शवदाहका लागि लामो समयसम्म पालो कुर्नु पर्ने वाध्यताको अन्त्य हुने अपेक्षा लिएको बताए । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले पनि काठमाडौं महानगरपालिकाले विद्युतीय शवदाह यन्त्र र गृह निर्माणका लागि गरेको पहल सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

    ‘हामीले पशुपति क्षेत्र परिसरमा विद्युतीय शवदाह यन्त्र र गृह निर्माणका लागि पटकपटक मेयरज्यूसँग छलफल गरेका छौं,’ ढकालले भने, ‘पछिल्लो समय शवको चाप बढिरहेको अवस्थामा थप शवदाह यन्त्र निर्माण गरी व्यवस्थित गर्नुपर्ने आवश्यकता थियो । यस्तो बेलामा महानगरपालिकाको सकारात्मक पहलसँगै शवदाहमा सहज हुने अपेक्षा गरेका छौँ ।’

    उनले अहिलेको शवदाह यन्त्र अपर्याप्त भएको र घण्टौँसम्म पालो कुर्नुपर्ने बाध्यता रहेको भन्दै आगामी दिनमा त्यसको समेत अन्त्य हुने दावी गरे। काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले पनि कोभिड–१९ का कारण सम्झौतामा केही ढिलाई भएको भन्दै अब केही दिन भित्रमै सम्झौता गरी प्रक्रिया अघि बढाउने जानकारी दिए ।

    उनले पनि पशुपति क्षेत्र विकास कोषसँग पटकपटक छलफल गरी सम्झौताको अन्तिम चरणमा पुगेको जानकारी दिए । असोज २० गते मेयर शाक्यको अध्यक्षतामा बसेको काठमाडौँ महानगरपालिकाको ५१ औ कार्यपालिका बैठकले पनि पशुपति क्षेत्रमा शवदाह गृह निर्माणका लागि अघि बढाएको प्रक्रियामा लाग्ने खर्च अनुदान दिने निर्णय गरिसकेको छ ।

    करिब ९ रोपनी क्षेत्रफलमा पार्क निर्माण संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद डा. अजयक्रान्ति शाक्यलगायतको उपस्थितिमा आज कुलेश्वर महादेव मन्दिर परिसरमा प्रमुख शाक्यले शिलान्यास गर्नुभएको पार्क करीब ९ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको हो । उक्त पार्क करीब १ करोड २० लाखको लगानीमा निर्माण हुन लागेको वडाध्यक्ष सोभा सापकोटाले जानकारी दिए ।

    काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्न २० लाखदेखि ६ करोडसम्मका तीस भन्दा बढी पार्क निर्माणको योजना अघि सारेको छ । ती पार्क निर्माणका लागि मात्रै महानगरपालिकाले २७ करोड भन्दा बढी बजेट विनियोजन गरेको छ ।

    121024512_1645060809001304_1912200154504954750_n.jpg
     

    ‘हरियाली प्रर्वद्धन गर्ने, सहरको सौदर्य बढाउने, पार्क निर्माण गर्ने महानगरपालिकाको नीति नै हो,’ कुलेश्वर पार्कको शिलान्यासपछि प्रमुख शाक्यले भने, ‘हामी खुला ठाउँ र सार्वजनिक जग्गा संरक्षण गर्ने, ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण स्थानको संरक्षण र सम्वर्द्धन गर्ने लगायतका कार्यलाई प्राथमिकतामा राखेर अघि बढेका छौँ ।’

    प्रमुख शाक्यले सम्वोधनकै क्रममा अहिले काठमाडौँ उपत्यकामा कोभिड–१९ को संक्रमण नियन्त्रण बाहिर जान सक्ने खतरा बढेको भन्दै तीनै तहका सरकार र जनता मिलेर नियन्त्रणको प्रयासमा लाग्न जरुरी रहेको बताए । उनले आम नागरिकलाई सचेत र सजग रहन पनि अपिल गरेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार