बागलुङ । बागलुङ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय २५ पुगेको छ । केही समय नियन्त्रण उन्मुख देखिए पनि अहिले फेरि सङ्क्रमण दर बढ्दो छ । पछिल्लो दश दिनमा मात्र १ सय २१ जना सङ्क्रमित थपिएका हुन् ।
शनिबार नेपाली सेना, प्रहरी, अदालतका कर्मचारी, थुनुवालगायत गरी ४७ जनामा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले ‘क्लस्टर’मा सङ्क्रमण देखिएकाले आत्तिहाल्नुपर्ने स्थिति नरहेको बताए।
“सेनाको ब्यारेकलगायत खासखास ठाउँ र ट्राभल हिस्ट्री भएका व्यक्तिमा सङ्क्रमण बढी छ”, उनले भने, ‘क्लस्टरबाट समुदायमा फैलन नदिन विशेष सावधानी अपनाउनुपर्छ ।” यात्रा विवरण नभएका सङ्क्रमित फाटफुट्ट देखिए पनि ठूलो जनसङ्ख्यामा कोरोना नपुगेको उनको भनाई छ ।
समुदायमा कोरोनाको फैलावट रोक्न सबैले जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने प्रमुख गुरौले बताए। स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कोरोना लागेर निको हुनेको सङ्ख्या ३ सय ६७ छ भने आइसोलेसनमा १ सय ५७ सङ्क्रमित छन् ।
कोरोनाका कारण जिल्लामा एक जनाको मृत्यु भएको छ। क्वारेन्टिनमा रहेकाको सङ्ख्या ८५ छ । हालसम्म आठ हजार ७२२ जनाको पिसिआर जाँच गरिएको छ । सङ्क्रमित हुनेमा पुरुष ८६ र महिला १४ प्रतिशत छन् ।
सबैभन्दा बढी बागलुङ नगरपालिकामा १ सय ६८ र सबैभन्दा कम ताराखोला तथा निसिखोला गाउँपालिकाका १७-१७ जनामा सङ्क्रमण देखिएको छ । कोरोना सङ्क्रमणपछि निको भएको दर ७० प्रतिशत छ भने मृत्युदर ०.०२ प्रतिशत छ।
यस्तै पीसीआर जाँच मध्येमा ६.०२ प्रतिशत सङ्क्रमण दर छ । जिल्लामा पहिलोपटक गत चैत १५ मा कोरोना देखिएको थियो जुन नेपालकै पाँचौ सङ्क्रमणको घटना थियो। सङ्क्रमित बढेसँगै पहिले रहेका आइसोलेसन कक्षमा शैय्या थप गर्न थालिएको छ । स्थानीय तहले पनि १०-१० शैय्याको आइसोलेसन केन्द्र बनाएका छन्।