एजेन्सी । केही समयअघि नियन्त्रणमा आइसकेको कोरोनाभाइरसको संक्रमण चीनमा बल्झिएको लक्षण देखिएको छ । चीनको सिङदाओ सहरका केही क्षेत्रमा कोरोना संक्रमण देखिएपछि यस्तो अनुमान गरिएको हो ।
यो अवस्थालाई नियन्त्रण ५ दिनभित्र सबै बासिन्दाको पिसीआर परीक्षण गरिने भएको छ। कोभिड–१९ का बिरामीको उपचार गरेको स्थानीय अस्पतालसँग जोडिएर संक्रमण फैलिएको देखिएपछि पूरै सहरका बासिन्दाको परीक्षण गरिन लागिएको स्थानीय सञ्चार माध्यमले जनाएको छ।
९० लाख बासिन्दाको परीक्षण पाँच दिनभित्र गर्न लागिएको हो। चीनले गएको मे मा वुहान सहरका एक करोड १० लाख बासिन्दाको परीक्षण गरेको थियो ।
वुहान सहरबाटै कोरोना संक्रमण सुरु भएको थियो। चीनमा अधिकांश रुपले संक्रमण नियन्त्रणमा आएको छ। विश्वका अरु क्षेत्रमा भने संक्रमणले महामारीको रुप लिएको छ।
सिङदाओ सहरमा थप ६ जनामा संक्रमण पुष्टि भएको स्थानीय अधिकारीले बताएका छन्। यस्तै अरु ६ जना लक्षणविहीन संक्रमितहरु पनि भेटिएका छन्।
ती सबै संक्रमितको सम्बन्ध स्थानीय अस्पतालसँग रहेको बताइएको छ। चीन सरकारले अति कम मात्रामा संक्रमण देखिए पनि सो क्षेत्रका सबै बासिन्दाको परीक्षण गर्ने रणनीति बनाएको छ ।
सिङदाओका अधिकारीले परीक्षणको काम सुरु भएको र तीन दिनभित्र पाँच जिल्लामा परीक्षण गरिसक्ने र पाँच दिनभित्र पूरै सहरको परीक्षण सक्ने बताएका छन्।