काठमाडौं । नेपाली महिलालाई भारतको वेश्यालयमा लगेर बेचेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले गोकर्णेश्वर नगरपालिका ५ मा लुकिछिपी बसिरहेका ५२ वर्षीय टाउटाउ तामाङलाई शुक्रबार पक्राउ गरेको हो।
सिन्धुपाल्चोक मेलम्ची घर भइ काठमाडौं नयाँ बस्ती बस्दै आएका उनले २० वर्षीया महिलालाई चार वर्षअघि राम्रो तलब सुबिधा सहितको काममा लगाउने भन्दै प्रलोभन देखाएर भारतको मुम्बईमा बेचेका थिए।
शक्ति समूह नामक संस्थाले ती महिलाको गत वर्ष भदौ ५ गते उद्दार गरी नेपाल ल्याएको थियो। नेपाल फर्किएकै दिन ब्युरोमा उजुरी परेको प्रहरी उपरीक्षक (एसपी) अनुराग द्विवेदीले जानकारी दिए।
ती महिला अहिले सोही संस्थाको संरक्षणमा छिन्। यता तामाङमाथि थप अनुसन्धान गर्न ब्युरोले काठमाडौं जिल्ला अदालत लगेको छ।
यस घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको एसपी द्विवेदीले बताए। तामाङमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।