काठमाडौं । कोरियाको एसियाना एयरलाइन्सले पीसीआर नगरेका ११ जना यात्रु ल्याएको छ । जम्मा १ सय ६० जना यात्रु बोकेर आएको कोरियाको एसियाना एयरलाइन्सलमा पीसीआर रिपोर्ट नभएका ११ यात्रु रहेका छन् । आज शनिवार कोरियाबाट चार्टड फ्लाइट आएको एसियाना एयरलायन्सले ११ यात्रुहरुको पीसीआर नभएपनि होटल क्वारेन्टाइनमा नराखी एयरपोर्टबाट नै छोड्न विमानस्थल र अध्यागमन प्रशासनलाई दबाब दिएको विमानस्थल स्रोतले बताएको छ । एसियाना एयरलायन्सको जीएसए गण्डकी ट्राभल्स हो ।
ट्राभल्सका प्रबन्ध निर्देशक रामकुमार कोनेले भने, कोरियाबाट चार्टर्ड फ्लाइट आएपनि मान्छे नआएको बताए ।‘कोरियाबाट फ्लाइट आएको हो तर मेडिकलको सामान लिएर आएको कार्गो फ्लाइट हो,’ उनले भने । कोनेले दिएको जानकारी भने झुटो देखिएको छ । विमानस्थल प्रशासनले नै कोरियाबाट एसियाना एयलायन्सले १६० जना यात्रुहरु बोकेर आएको र ११ जनाको पीसीआर रिपोर्ट नभएका कारण नछोडिएको पुष्टि गरेको छ । एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ्ग फ्रिडम फ्लाइटले गरेको थियो ।
फ्रिडम फ्लाइट, एयरलायन्स र गण्डकी ट्राभलले यात्रुहरुलाई क्वारेन्टाइनमा नराखी सिधैं छोड्नुपर्ने दबाब दिएको विमानस्थल स्रोतले बताएको छ । सीसीएमसीका सदस्य तथा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले पीसीआर पनि नगरि यात्रु ल्याउने र होटलमा पनि राख्न नखोज्ने एयरलायन्स र ट्राभललाई कारवाही गरिने बताए । ‘सबै यात्रुलाई क्वारेन्टाइनमा राख्नुपर्छ, सरकारले नै अनिवार्य पीसीआर भनेपछि नगरी लापरवाही गर्नेलाई कारवाही हुन्छ,’ उनले भने ।