काठमाडौं । अनशनरत डा. गोविन्द केसीको मागका विषयमा आज गर्ने भनिएको वार्ता अन्योलमा परेको छ। सरकारी टोलीले समय नतोक्दा वार्ता अन्योलमा परेको हो। दिउँसो ४ बजेसम्म वार्तामा नबोलाए आन्दोलनबाट जवाफ दिइने केसी समर्थकले जनाएका छन्।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बिहीबार भएको वार्तामा डा. केसीले उठाएका मागबारे छलफल भएको थियो। बिहान साढे १० बजेदेखि बसेको वार्ता अन्तिम निष्कर्षमा भने पुग्न सकेको थिएन। वार्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा र डा. केसीको पक्षबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा टोली गठन गरिएको छ।
यस्तै २६ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था झन् बिग्रँदै गएको चिकित्सकले बताएका छन्। मेडिकल टिमले गरेको जाँचमा डा. केसीलाई निमोनिया हुन सक्ने लक्षण देखिएको छ। थप परीक्षण हुँदै गरेको र छातीको सिटी स्क्यान गर्ने तयारी चिकित्सकहरुले गरिरहेको बताइएको छ।
आजको छलफलको समय भने तय भइनसकेको डाक्टर केसीको वार्ता टोलीका संयोजक डा. जीवन क्षेत्रीले जानकारी दिए ।
डा. केसीले ६ बुँदे माग राखेर भदौ २९ गते जुम्लाको चन्दननाथबाट १९ औं अनशन सुरु गरेको थियो। त्यहाँबाट काठमाडौं ल्याइएका डा. केसीको अनशन त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आज २६ औं दिन पनि जारी छ।