काठमाडौं । भक्तपुरमा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको घटनाका नाइकेलाई प्रहरीले पक्रेको छ । झापा भद्रपुरका दिपेश राईलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ । महानगरीय प्रहरी वृत्त जगाती र महाशाखाको टोलीले झापा प्रहरीसँगको समन्वयमा २२ वर्षीय राईलाई झापाबाट पक्रेर भक्तपुरमा ल्याइएको हो ।
असोज १७ मा ३ जना मिलेर युवतीलाई सामूहिक बलात्कार गरेका थिए । बलात्कृत किशोरीलाई प्रहरीले रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा३ख २६१२ नम्बरको बसबाट बेहोस अवस्थामा उद्धार गरेको थियो ।
बलात्कारमा संलग्न दुईजनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । यसअघि पक्राउ गरिएकामा सिन्धुपाल्चोक साँगाचोकगढी–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ घर भएका सुर्य श्रेष्ठ छन् ।
दिपेश राई सो गाडीका खलासी हुन् । आरोपीहरुले किशोरीलाई रत्नपार्कबाट भक्तपुर लगेर बलात्कार गरेका थिए । लठ्याउने औषधी खुवाएर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । किशोरीलाई दिपेशले रातभर बलात्कार गरेपछि भोलिपल्ट निरकुमार र सुर्यलाई किशोरी जिम्मा लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
किशोरीलाई लठ्याउने औषधी खुवाइएको थियो । किशोरी बेहोस अवस्थामा देखेर अन्य गाडीका स्टाफले प्रहरीलाई सूचना दिएपछि घटना बाहिरिएको थियो ।