Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • एनआरएनए महाधिवेशनबाट पराजित पक्षद्वारा आरके शर्माको नेतृत्वमा अर्को कार्यसमिति घोषणा


    आइतबार, कार्तिक ५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को ११ औँ महाधिवेशनबाट राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा समानान्तर कमिटी घोषणा भएको छ । बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा छुट्टै कमिटी घोषणा गरिएको हो ।

    महाधिवेशनबाट डा. बद्री केसीसहितको टीम विजयी भएपछि पराजित समुहले समानान्तर कार्यसमिति गठन गरेकाे हाे ।

    असोज ३० गतेबाट काठमाडौंमा जारी महाधिवेशनले शर्माको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन गरेको भन्दै विज्ञप्ति जारी गरिएको छ ।

    ‘महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विहीबार भएको भौतिक उपस्थितिमा साथै अनलाइन मतदानमा अष्ट्रेलियामा रहेको कम्पनी, भेरोद्वारा फेस भेरिफिकेशन पद्धति प्रयोग गरी भएको मतदानका क्रममा गम्भीर त्रुटी देखिएपछि शर्मालाई सर्वसम्मतरुपमा २०२३–२५ का लागि अध्यक्षमा चयन गरिएको हो’, विज्ञप्तिमा भनिएको छ ।

    २० अक्टोबर २०२३ मध्य राती घोषित निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण देखिएपछि नयाँ प्रक्रियामार्फत अध्यक्षमा शर्मालाई चयन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    समानान्तर कार्यसमितिमा डा. केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्तान र गणेश केसी उपाध्यक्ष रहेका छन् । त्यस्तै, महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा अब्दुल वासिद रहेका छन् ।

    महासचिवमा बुद्धी सागर सुवेदी छन् भने उपमहासचिवमा सोम सापकोटा र प्रमोद सिटौला छन् । त्यस्तै, सचिवमा लोकप्रसाद दाहाल, कृष्ण जीवी पन्त, टंक गैरे, दयानिधि सापकोटा, राम पोखरेल र केपी सिटौला छन् ।

    कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना रहेका छन् भने सह कोषाध्यक्षमा तिलक गैरे, मोहम्मद मुसलमान, सीपी पौडेल र कृष्ण तिम्सिना छन् ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार