काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र निर्माणको सङ्कल्प बोक्दै राष्ट्रसामु विद्यमान चुनौतीहरूको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्यको निर्माण गर्ने अठोटका साथ विजयादशमी मनाउन अपिल गरेका छन् । लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिहरूको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षाहरू पूरा गर्नुपर्ने ठुलो चुनौती रहेको प्रधानमन्त्री दाहालले बताएका हुन् ।
‘हामीलाई पछाडि फर्किन या यत्तिकै रुमलिने छुट छैन। हामीले नेपाली जनताले युगौँदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पुरा गर्न दृढतापूर्वक अघि बढ्नैपर्छ। यसका लागि जस्तोसुकै कठिनाइ आएपनि देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी छ,’ प्रधानमन्त्रीले भनेका छन्, ‘ हाम्रासामु अर्थतन्त्रमा परेको दबाब, विकास निर्माणमा देखा पर्ने परम्परागत शैली, संरचना र प्रणालीको अवरोध, राष्ट्र निर्माणका पक्षमा राष्ट्रिय एकताको भावनालगायतका चुनौती छन्। तर हामीले दृढ अठोटका साथ राष्ट्र, राष्ट्रियता र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्यौँ भने हरेक अवरोध छिचोल्न सक्छौँ। यही तथ्यलाई आत्मसात् गर्दै सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील छ।’
यस्तो छ शुभकामना सन्देश :
नेपालीहरूको महान् पर्व विजयादशमीको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।
पूर्वीय सभ्यता, दर्शन, चिन्तन परम्परा, संस्कृति र पर्वहरूका दृष्टिले हामी वैभवशाली र गौरवशाली छौँ। हामीले नेपाली विशिष्टता र मौलिकताको संवर्द्धन एवं विकास गरेर ज्ञानविज्ञान, सभ्यता र संस्कृतिको क्षेत्रमा नयाँ पहल लिन सक्छौँ। यस दृष्टिले विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी छ। यसको जगेर्ना गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषतामा आधारित देश, समाज र संस्कृतिलाई थप समुन्नत तुल्याई राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु हामी सबैको साझा दायित्व हो। योसँगै हाम्रा मौलिक पर्वहरूभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै त्यसभित्र विद्यमान रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिवर्तन आवश्यक रहेकोमा म जोड दिन चाहन्छु।
यतिखेर हामी अवसर र चुनौतीको कठिन परीक्षाबाट गुज्रिरहेका छौँ। लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिहरूको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षाहरू पूरा गर्नुपर्ने ठुलो चुनौती हाम्रासामु छ। हामीलाई पछाडि फर्किन या यत्तिकै रुमलिने छुट छैन। हामीले नेपाली जनताले युगौँदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पुरा गर्न दृढतापूर्वक अघि बढ्नैपर्छ। यसका लागि जस्तोसुकै कठिनाइ आएपनि देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी छ।
जात, वर्ग, धर्म लिङ्ग, वर्ण, भूगोल, आस्था र सम्प्रदायको सोचबाट माथि उठेर “गरे हुन्छ, परिवर्तन सम्भव छ” भन्ने सामूहिक र सकारात्मक चिन्तनको विकास अहिलेको आवश्यकता हो। हाम्रासामु अर्थतन्त्रमा परेको दबाब, विकास निर्माणमा देखा पर्ने परम्परागत शैली, संरचना र प्रणालीको अवरोध, राष्ट्र निर्माणका पक्षमा राष्ट्रिय एकताको भावनालगायतका चुनौती छन्। तर हामीले दृढ अठोटका साथ राष्ट्र, राष्ट्रियता र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्यौँ भने हरेक अवरोध छिचोल्न सक्छौँ। यही तथ्यलाई आत्मसात् गर्दै सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील छ। सरकारको यो प्रयासमा सम्पूर्ण आदरणीय जनसमुदायले व्यक्त गर्नुभएको ऐक्यबद्धता समुन्नत राष्ट्र निर्माणका निम्ति अत्यन्त महत्त्वपूर्ण छ।
अन्तमा, राष्ट्र निर्माणको यही सङ्कल्प बोक्दै राष्ट्रसामु विद्यमान चुनौतीहरूको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्यको निर्माण गर्ने अठोटका साथ विजयादशमी मनाउनु हुन सबैमा हार्दिक आव्हान गर्दछु। नेपाली समाजलाई समुन्नत बनाउन सबैको साथ, सहयोग र ऐक्यबद्धतासहित सामाजिक सहिष्णुता र सद्भाव अझै अभिवृद्धि हुने अपेक्षा गर्दै विजयादशमी २०८० को पुनः शुभकामना व्यक्त गर्दछु। धन्यवाद।
४ असोज, २०८०
पुष्पकमल दाहाल ‘प्रचण्ड’
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend