काठमाडौं । बोक्सीको आरोपमा महिलालाई कुटपिट गरेर फरार रहेका सन्तोष यादव पक्राउ परेका छन् ।
सन्तोष लगायत आठ जनाले गत भदौ २७ गते मूर्तीदेवी यादवलाई घरबाट राति ११ बजे बोलाई मरणासन्न हुने गरी कुटेका थिए । बोक्सीको आरोपमा कुटिएकी मूर्तीदेवीको दुईओटा दाँत नै भाँच्चिएको थियो ।
सो घटनाको उजुरी प्रहरीमा दिएसँगै सन्तोष फरार रहेका थिए । घटनामा संलग्न अन्य व्यक्तिहरु यसअघि पक्राउ परिसकेका छन् । उनलाई प्रहरीले नेपाल-भारत सीमा नजिक सिराहाको ठाडीबाट बुधबार पक्राउ गरेको प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता प्रसाईंले बताए ।