काठमाडौं । २५ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारबीच वार्ता हुने भएको छ । सरकारले डा. केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव गोपिनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।
साढे १० बजेबाट शिक्षा मन्त्रालयमा वार्ताका सुरु गर्ने भनिएको छ । प्रा. डा. केसी गत २५ दिनदेखि जुम्लाबाट शुरु गरी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनमा छन् ।
मङ्गलबार सरकारको निर्देशनमा सचिव मैनालीसहितको टोलीले भेटेर अनशन त्याग्न आग्रह गर्दा उनले वार्ता समिति गठन भई आफ्ना माग पूरा गर्नुपर्ने अडान राखेपछि बुधबार समिति गठन गरिएको थियो ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा रहेका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मङ्गलबारको सचिवालय बैठकमा डा. केसीको जीवन रक्षाका सन्दर्भमा छलफल हुँदा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले लागि सो विषयमा सरकार गम्भीर रहेको र वार्ताका लागि प्रक्रिया सुरु भैसकेको जनाएका थिए ।
बैठकले कोरोना महामारीको विषम स्थितिमा अनशन अन्त्य गराई वार्ताबाट समस्याको समाधान गर्न डा. केसीलाई आग्रह गरेको थियो । सरकारले डा. केसीका अधिकांश माग पूरा भैसकेको जनाउँदै आएको छ ।