ललितपुर । ललितपुरका केही स्थानमा आज दिनभर बिजुलीको समस्या हुने भएको छ । वितरण प्रणालीमा समस्या आएकाले सो क्षेत्र प्रभावित हुने भएको हो ।
ललितपुरको सुनाकोठी, नख्खिपोट, चापागाउँ, लेलेलगायतका क्षेत्रमा बुधबार दिउँसोदेखि बिजुली आपूर्ति बन्द भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको लगनखेलमा रहेको पाटन सबस्टेशन अन्तर्गतको चापागाउँ फिडरबाट वितरण भएको लाइनमा खराबी आएकाले दक्षिण ललितपुरका धेरै ठाउँमा बिजुलीको आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । यी क्षेत्रमा दिउँसो ३ बजेदेखि बिजुलीको आपूर्ति हुन सकेको छैन ।
वितरण लाइनको कुन ठाउँमा खराबी आयो भन्ने यकिन नहुँदा मर्मतमा समस्या भएको छ । दिउँसोदेखि नै प्राविधिकको टोली मर्मतमा खटिए पनि समस्या पत्ता लगाउन नसक्दा कठिनाइ भएको बताइएको छ । अहिले पनि प्राविधिकको टोलीले काम गरिरहेको र काम सम्पन्न भएसँगै बिजुली नियमित हुने प्राधिकरणले जनाएको छ ।