काठमाडौं । डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । संघले बुधबार एकले एक विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।
जसअनुसार बिहीबार बिहान ९ देखि ११ बजे सम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गर्ने निर्णय भएको संघका महासचिव डा बद्री रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै संघका शाखा कार्यालयहरु, देशभरका स्वास्थ्य संस्था वा अस्पतालहरुको प्रांगढमा जनस्वास्थ्यको मापदण्ड अपनाई सामाजिक दुरी कायम गर्दैैै धर्ना दिने कार्यक्रम पनि तय भएको छ ।
यसैगरी संघका शाखा कार्यालयहरु र देशभरका सम्पूर्ण स्वास्थ्य संस्था, अस्पताल वा उपयुक्त स्थानमा सामाजिक दुरी कायम गरी जनस्वास्थ्यको मापदण्ड अपनाई अर्को सूचना नआएसम्म कालोपट्टी बाँधी रिले अनसन गर्ने पनि तय भएको छ ।
यसैगरी शुक्रबार १ दिनका लागि देशैभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने घोषणा संघले गरेको छ । शुक्रबारसम्म पनि पनि सरकारले वार्ता टोली बनाई सत्याग्रहको अन्त्य नगरिएको अवस्थामा संघबाट थप कडा विरोधका कार्यक्रमहरु सार्वजनिक गरिने रिजालले बताए ।
संघद्वारा घोषणा गरिएका विरोधका कार्यक्रमहरुबाट उत्पन्न हुन सक्ने गम्भिर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुन पनि संघले स्पष्ट पारेको छ।
केसीको १९ औँ असनसनमा क्रममा भएका भएका माग पूरा गर्न यसअघि संघले सरकारलाई ७२ घण्टाको समयावधि दिएको थियो । तर, सो अवधिमा वार्ताको कुनै वातावरण नबनेकाले संघले आन्दोलनको घोषणा गरेको हो। केसीले अनसन थालेको आज २४ पुगेको छ भने उनको स्वास्थय अवस्था अन्यन्तै जटिल बन्दै गएको बताइएको छ ।