Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ट्राफिक भवन निर्माणको नाममा असुली, एसपीद्धारा प्रहरी मुख्यालयको निर्देशन अवज्ञा 


    मंगलबार, असोज २० २०७७
    895
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • शान्तिराज कोइराला, टंक न्यौपाने र फणिन्द्र भण्डारी

    चितवन । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले रामनगरमा अस्थायी कार्यालय भवन निर्माणका लागि जिल्ला वन कार्यालयमा सहमति माग गरी प्रक्रिया अगाडि बढाइसकेको छ । ट्राफिक भवन निर्माणका लागि रामनगरमा १३ कट्ठा जग्गा माग गरी वन मन्त्रालयमा फाइल पुगिसकेको छ । वन मन्त्रालयले सहमति दिने लगभग निश्चित भइसकेकाले प्रदेश ट्राफिकको लागि अस्थायी टहरा निर्माणको लागि समिति निर्माण गरिएको छ । समितिको संयोजकमा क्रसर ब्यवसायी टंक न्यौपानेलाई राखिएको छ भने फणिन्द्र भण्डारी पनि छन् । दुवैलाई पूर्वडीआइजी ज्ञानेन्द्रविक्रम महत र प्रदेश कार्यालयका प्रनानि कृष्णबहादुर ठकुरीको डिजाइनमा राखिएको स्रोत बताउँछ ।

    ट्राफिक प्रहरी स्रोतका अनुसार भवन निर्माण समितिमा प्रहरीको तर्फबाट कोही पनि नराखी नागरिकमात्र राखेको भनी चलाखी गर्न खोजे पनि समितिका वास्तविक परिचालक प्रनानि ठकुरी नै हुन् । २०७७ भदौ ४ मा बागमती प्रदेश ट्राफिक प्रहरीको प्रमुखमा सरुवा भएको १३ दिनपछि नै भदौ १७ मा एसपी कोइरालाले प्रदेशका ट्राफिक प्रहरी फेरबदल गरेका थिए । त्यो फेरबदलमा प्रनानि ठकुरीलाई उनले प्रदेश ट्राफिकमा सरुवा गरेका थिए ।

    चितवनमा डीएसपी हुँदै एसपी कोइरालासँग ठकुरीको गहिरो चिनाजानी थियो । त्यही चिनाजानीका कारण उनलाई प्रदेशमा सरुवा गरिएको थियो । ठकुरीकै योजनामा भवन निर्माण समिति बनाइएको छ । ठकुरीलाई परिचालन गरी भवन निर्माणका नाममा पैसा असुली गर्ने उद्देश्यले उनकै सल्लाहमा न्यौपाने र भण्डारीलाई समितिमा राखिएको स्रोत बताउँछ ।

     एसपी कोइरालाले वन मन्त्रालयमा जग्गा प्राप्तीका लागि पठाइएको बताए । उनले भने–‘वन मन्त्रालयमा जग्गाको फाइल टुंगो लाग्न ढिलाइ भए पनि टहरा बनाएर काम सुरु गर्न लागिएको हो । त्यसकै लागि समिति बनाइएको हो । टहरा बनाउने क्रममा आर्थिक अनियमितताको कुनै सवाल नै हुँदैन । सबै कुरा पारदर्शी रुपमा हुनेछ ।’    

    भवन निर्माण समितिका न्यौपाने नेकपा(साविक माओवादी) निकट हुन् । भण्डारी चोरीका गाडी बिक्रीमा मुछिएका ब्यक्ति हुन् । पूर्वडीआइजी महतबाट परिचालित उनीहरुलाई भवन निर्माण समितिमा राखी ठकुरीले त्यसका नाममा आर्थिक संकलन गर्न थालेको स्रोत बताउँछ । ठकुरी दरबन्दी महानगरीय ट्राफिक प्रहरी महाशाखामा भए पनि १७ बर्षदेखि चितवन ट्राफिकमा कार्यरत छन् । उनलाई महतले नै संरक्षण गर्दैआएका छन् । १७ बर्षदेखि चितवन जिल्लाका ट्राफिक पोष्टमा कार्यरत ठकुरीले सबै ब्यवसायी चिनेकाले एसपी कोइरालाले उनकै सल्लाहमा निर्माण समितिमा न्यौपाने र भण्डारीलाई राखेका छन् ।  

    नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्रीले सानोभन्दा सानो अनियमितता गर्ने अधिकृतलाई कारबाहीस्वरुप तानिरहेका छन् । तर ट्राफिकका एसपीले भवन निर्माणको नाममा देखावटी रुपमा नागरिकलाई राखेजस्तो देखाएर पैसा उठाउने काम गर्न थालेकोबारेमा भने बेखबर जस्तै देखिएका छन् ।  

    डीएसपी हुँदा चितवनमा कार्यरत रहेका बेला एसपी कोइराला गाईगोरु तस्करी काण्ड लागेपछि तानिएका थिए । प्रहरीमा आवधिक सरुवाको नीति छ, तर प्रनानि ठकुरी १७ बर्षदेखि चितवन ट्राफिकमै कार्यरत छन् । उनलाई नियमावलीमै चितवन ट्राफिक बाहेक अन्यत्र सरुवा नगर्ने प्रावधान नै राख्दा पनि हुने हो भन्ने टिप्पणी प्रदेश ट्राफिकभित्रैबाट हुने गरेको छ । दरबन्दी महानगरीय ट्राफिक महाशाखा हुँदा पनि उनलाई एसपी कोइरालाले प्रदेश ट्राफिकमा लगेर सुबेदार मेजर, प्रशासन र बागमती प्रदेशका सबै ट्राफिक कार्यालयको अनुगमनको जिम्मा दिएका छन् ।

    प्रहरी हेडक्वाटरको निर्देशन अवज्ञा 

    चितवन ट्राफिक प्रहरी कार्यालयले आम्दानी नबाँधी लकडाउनको समय २०७६ चैतमा कवाडी बिक्रीका क्रममा लापरबाही गर्ने ४ जनालाई कसुर अनुसार सचेत गराउने वा अन्य कारबाही गरी नतिजा जाहेर गर्नू भनी प्रहरी प्रधान कार्यालयले डेढ महिनाअघि दिएको निर्देशन पनि एसपी कोइरालाले कार्यान्वयन गरेका छैनन् ।

    चितवन ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाकृष्ण भट्ट, प्रनानि कृष्णबहादुर ठकुरी, अफिस क्लर्क हरेराम खतिवडा र संचार दरबन्दी भए पनि ८ बर्षदेखि ट्राफिकमा कार्यरत बिश्वराज  नेपाललाई कारबाही गरी जाहेर गर्न निर्देशन दिइएको थियो । तर कारबाही गर्नु भनिएका ठकुरीलाई एसपी कोइरालाले प्रदेशमा लगी महत्वपूर्ण जिम्मेवारी दिएर पुरस्कृत गरेका छन् । ठकुरीलाई जिल्लाबाट प्रदेशमा सरुवा गरिनु नै कारबाही भएको एसपी कोइरालाको तर्क छ । एसपी कोइरालाले भने– प्रदेशमा ३ जना सईको दरबन्दी भए पनि एकजनामात्र छन् । आवश्यकताकै कारण उनलाई सरुवा गरिएको हो ।

     विश्वराज नेपाललाई दोलखा ट्राफिकमा सरुवा गरेका छन् । कवाडी बिक्री प्रकरणमा लापरबाही गर्नेलाई सचेत गराउने निर्देशन आएको हो, त्यो भइरहेको छ, कोइरालाले भने । लामो समय चितवन ट्राफिकमा कार्यरत बाबुराम न्यौपाने लगायतलाई एसपी कोइरालाले चितवनबाट दोलखा लगायतका जिल्लामा सरवा गर्ने कार्यलाई भने सराहना नै गरिएको छ । यद्यपि न्यौपानेले पूर्वडीआइजी महतदेखि बागमती प्रदेशका प्रहरी प्रमूख वसन्तकुमार लामालगायत विभिन्न शक्ति लगाएर सरुवा बदर गराउन दबाब दिएका थिए । सरुवा बदर गरी चितवनमै दरबन्दी कायम गराउन खोजे पनि उनी गैडाकोट काजसरुवा गराएका छन् । तर चितवनमै दरबन्दी कायम गराउन उनी लागिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार