काठमाडौं । विपक्षी दल नेपाली कांग्रेसको विरोधका बीच चलेको प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक स्थगित भएको छ।
सभामुख पूर्ण घर्तीमगरले मंगलबार दिउँसो १२ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका हुन्।
प्रदेश ५ का कानुन मन्त्री कुलप्रकाश केसीले प्रदेश ५ को नामाकरण र राजधानी तोक्ने सम्बन्धी प्रस्ताव प्रदेश सभाका सभामुखसमक्ष पेश गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधकाबीच उनले प्रस्ताव सभामुखसमक्ष पेश गरेका हुन्।
प्रदेशको नाम लुम्बिनी र राजधानी देउखुरी प्रस्ताव गरिएको छ। उक्त प्रस्तावमाथि भोलि पुरक प्रस्ताव राखिने छ।
छलफलमा केही सांसदले भाग लिए भने कांग्रेस सांसदले उभिएर विरोध गरिरहे। यसैबीच कांग्रेस सांसदले स्थायी राजधानी
बुटवल नै राख्नुपर्ने माग गर्दै कुर्सी, टेबुल र माइक फुटाएका थिए। सांसदहरूले उठाएका प्रश्नमा मन्त्री केसीले जवाफ दिएका थिए।