Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आममाफीबारे राष्ट्रपति पौडेललाई रास्वपाले तीन बुँदे ध्यानाकर्षण बुझायो


    सोमबार, असोज १५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। आममाफीबारे राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन बुँदे ध्यानाकर्षण गराएको छ। नेपालगञ्जका ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिएको भन्दै राष्ट्रपतिलाई रास्वपाले तीन बुँदे ध्यानाकर्षण गराएको हो।

    पार्टी सभापति रवि लामिछानेसहितका नेताले सोमबार राष्ट्रपति पौडेललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन्। चेतन मानन्धरको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका नेपालगन्जका ‘रिगल’ भनिने योगराज ढकाललाई संविधान दिवसको अवसर पारेर माफी दिइएको थियो।

    यस्तै पत्रमा सजाय माफीसम्बन्धी कानुन निर्माण गर्दा विधायकले राखेको मनसायलाई मनन गरी संवैधानिक तथा कानूनी व्यवस्थाको पालना गर्न/गराउन सरकारको ध्यानाकर्षण गराउन राष्ट्रपतिलाई आग्रह गरिएको छ।

    त्यस्तै, सजाय माफी, मुलतबी, परिवर्तन र कम गर्न कानूनले नै निषेध गरेका व्यक्तिको स्वार्थ प्रेरित रिहाइलाई रोकी राज्यमा कानुनी राज्य, शान्ति सुव्यवस्था र न्यायको प्रत्याभूति आम जनतामा अनुभूत गराउन आवश्यक कानूनी व्यवस्था स्थापना तथा परिमार्जनका लागि सरकारको ध्यानाकर्षण गराउन पनि भनिएको छ।

    तेस्रोमा सरकारबाट भएका सिफारिस संविधानसम्मत भए/नभएको सन्दर्भ यकिन गरी मात्र अनुमोदनका लागि पठाउन सरकारको ध्यानाकर्षण गराउन आग्रह गरिएको छ।

    ‘नेपाली जनताको संघर्ष र बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक व्यवस्थाको सर्वोच्च निकायका रूपमा रहेको यस संस्थाको गरिमा र महिमाको रक्षा गर्न सम्माननीयज्यू स्वयं समेत सजग रहनुहुन सादर अनुरोध गर्दछौं,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘संवैधानिक सर्वोच्चता, विधिको शासन र कानुनी राज्यको व्यवहारिक प्रत्याभूतिका लागि र सरकारले राजनीतिक मनशायका साथ गरेका सिफारिस र गलत निर्णयको बोझले राष्ट्रपति जस्तो सम्मानित संस्थामा निरन्तर परिरहेको अबगाल न्यूनीकरण र नियन्त्रणमा यहाँबाट सकारात्मक पहलकदमी तथा विवेकपूर्ण निर्णयको अपेक्षा पनि गर्दछौं।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार