Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसियाली खेलकुद: मंगोलियाविरूद्ध नेपालको सानदार जित


    बुधबार, असोज १० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौँ। हाङझाउ एसियाली खेलकुद अन्तर्गत नेपालले पुरूष क्रिकेटको आफ्नो पहिलो खेलमा ३१४ रनको कीर्तिमानी स्कोरको ओइरो लगाएको छ।

    चीनमा जारी उक्त १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको छ। मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपालले टी-२० इतिहासकै अहिलेसम्मकै ठूलो जित निकालेर विश्व कीर्तिमान बनाएको हो। यसअघि जितको आधारमा ठूलो जित चेकको २५७ रनको थियो।

    झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा नेपालले दिएको ३१५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो। उसका लागि जम्यासुरेनले १० रन जोड्नुबाहेक अरू ब्याटर दोहोरो अंकमा रन जोड्न नपाई आउट भए।

    बलिङमा नेपालका करण केसी, अभिनास बोहरा र सन्दीप लामिछानेले २-२ विकेट लिए। करणले २ ओभरमा १ मेडन राख्दा १ रन र अभिनासले २ ओभरमा १ मेडन राख्दा २ रन मात्र दिए। सन्दीपले पनि २ ओभरमा १ मेडन राख्दा ७ रन खर्चिए। सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए।

    त्यसअघि मंगोलियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा ३१४ रन जोड्यो।

    कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी ब्याटिङ गरेपछि नेपालले टी-२० मा इतिहासकै ठूलो योगफल तयार गरेको हो। यसअघि टी-२० को विश्वकीर्तिमानी योगफल २७८ रन थियो। यो स्कोर चेक र अफगानिस्तानले बनाएका थिए।

    यस्तै कुशल मल्लले ३४ बलमै शतक प्रहार गर्दै अर्को कीर्तिमान बनाए। यसअघिको सर्वाधिक छिटो अर्धशतको कीर्तिमान ३५ बलमा दक्षिण अफ्रिकाका डेभिड मिलर, चेकका सुदेश विक्रमाशेखर र भारतका रोहित शर्माले बनाएका थिए। नेपालको लागि सर्वाधिक छिटो शतक बनाउने कीर्तिमान पारस खड्काको नाममा ४९ बलमा थियो।

    दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशकतक प्रहार गर्दै अर्को विश्वकीर्तिमान बनाए। उनले १२ बलको विश्वकीर्तिमान पनि भंग गरेका हुन्। यो कीर्तिमान भारतका युवराज सिंहको नाममा थियो। दीपेन्द्रले १९औं ओभरका पछिल्ला पाँच बलमा ५ छक्का हिर्काएका थिए। अर्को ओभरको दोस्रो बलमा पनि छक्का हिर्काएपछि उनले ६ बलमा ६ छक्का प्रहार गर्ने अर्को विश्वकीर्तिमान बनाए।

    खेलमा कुशल मल्लले ५० बलमा नटआउट १३७ रन र दीपेन्द्रसिंह ऐरीले १० बलमा नटआउट ५२ रन प्रहार गरे। कुशलले ८ चौका र १२ छक्का तथा दीपेन्द्रले ८ छक्का हिर्काए।

    त्यसअघि कप्तान रोहित पौडेल २७ बलमा ६१ रन, कुशल भुर्तेल २३ बलमा १९ रन र आसिफ शेख १७ बलमा १६ रन जोडेर आउट भएका थिए।

    उक्त खेलमा नेपालले २६ छक्का र १४ चौका प्रहार गरेको थियो। समूहमा अब नेपालले दोस्रो खेलमा माल्दिभ्ससँग खेल्नेछ।

    समूह विजेता बने नेपाल क्वार्टरफाइनल पुग्नेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार