काठमाडौं । सुरक्षाकर्मीहरु कोरोना संक्रमणको उच्च जोखिममा परेका छन् । फ्रण्टलाइनमा खटिँदै आएका सुरक्षा निकायका ८ हजार २ सय ६० जनामा संक्रमण पुष्टि भैसकेको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुमा संक्रमण देखिएको हो ।
संक्रमितमध्ये सबैभन्दा बढी नेपाल प्रहरीका मात्रै ४ हजार ४ सय २३ जना छन् । तीमध्ये १ हजार ७ सय २६ जना सक्रिय संक्रमित छन् भने २ हजार ६ सय ९७ जना डिस्चार्ज भैसकेका छन् ।
प्रहरी प्रधान कार्यालयकै ३ सय १ जना, उपत्यकाका ५ सय ९७ जना, प्रदेश १ का १ सय ४३ जना, प्रदेश २ का ८४ जना, बागमती प्रदेशका १ सय ३४ जना, गण्डकी प्रदेशका १ सय ३४ जना, प्रदेश ५ का १ सय ७६ जना, कर्णाली प्रदेशका ४१ जना र सुदूरपश्चिम प्रदेशका ९५ जना सक्रिय संक्रमित छन् ।
यस्तै नेपाली सेनाका २ हजार ५ सय ९० जनालाई कोरोना संक्रमण देखिएको छ । जसमध्ये ८ सय ८ जना डिस्चार्ज भएका छन् भने १ हजार ८ सय ८० जना सक्रिय संक्रमित छन् । संक्रमणबाट सेनाका २ जनाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बलमा भने निको हुने दर बढेको छ । सशस्त्रमा १ हजार २ सय ४७ जना संक्रमित हुँदा ९ सय ९९ जना डिस्चार्ज भएका छन् । २ सय ४८ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो समय भीआईपीको सुरक्षामा खटेका सुरक्षाकर्मीहरुमा पनि संक्रमणको दर उच्च रहेको पाइएको छ । शनिबार मात्र प्रधानमन्त्री कार्यालयमा खटेका ७८ सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको थियो ।