Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनमा २ गैँडा मृत भेटिए, यो वर्ष मात्रै ५ गैँडाको मृत्यु


    आइतबार, असोज १८ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • चितवन । चितवन राष्ट्रिय निकुञ्जमा शनिबार र शुक्रबार दुई वटा गैँडा मृत भेटिएका छन्। योसँग साउनमा नयाँ आर्थिक वर्ष शुरु भएयता पाँच गैँडा मृत भेटिएका छन्। 

    पाँचमध्ये एउटा गैँडा चोरी शिकारीबाट मारिएको आशंका गरिएको निकुञ्जले जनाएको छ। अन्य गैँडा भने कालगति र दुर्घटनाबाट मरेका हुन्। शुक्रबार र शनिबार भेटिएका दुवै गैँडा नदीमा बगेर मरेको आशंका गरिएको छ।

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार शनिबार नारायणी नदीमा डुबेर मरेको एउटा पोथी गैँडा त्रिवेणीमा भेटिएको छ। गैँडाको पुरानो बासस्थान निकुञ्जको मुख्य क्षेत्रबाट सो गैँडालाई नारायणी नदीले बगाएर त्रिवेणी पु¥याएको हुनसक्ने उनले बताए।

    निकुञ्जबाट नदीमा बग्दै गएका अन्य कम्तीमा दुईवटा गैँडा त्रिवेणी क्षेत्रमा छन्। ती बग्दै गएका गैँडाहरु कहिले सुस्तातर्फको उखुबारीमा त कहिले भारतीय क्षेत्रमा आवतजावत गर्ने गरेको निकुञ्जले जनाएको छ।

    त्यस्तै शुक्रबार चितवन राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र (कोर एरिया) नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को लामीचौरमा रहेको निकुञ्जको सुरक्षा चौकीदेखि तीन किलोमिटर दक्षिणमा नारायणी नदीको बीच भङ्गालोमा गैँडा मृत भेटिएको छ। उक्त गैँडा एकदेखि दुई महिनाअघि मरेको हुनसक्ने अनुमान निकुञ्जको छ। सडेको अवस्थामा भेटिएको गैँडाको खाग र खुर सुरक्षित थिए।

    सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार यो वर्ष साउनमा एउटा र भदौमा अरु दुई वटा गैँडा पनि मृत भेटिएका थिए। भदौमा मरेको दुईमध्ये एउटा गैँडा भने चोरी शिकारीका कारण मारिएको रामले जानकारी दिए।

    उनले भने, “भदौ १६ गते मरेको गैँडाको प्रकृति र शरीरमा लागेको चोट हेर्दा त्यो गैँडा चोरी शिकारीको कारण मारिएको निकुञ्जले निष्कर्ष निकालेको छ ।” उनका अनुसार १६ भदौमा गोली पड्केको आवाज सुनेपछि निकुञ्ज प्रशासन र सेनाको टोली गस्तीमा निस्किएको थियो। उक्त टोलीले पाँच दिनपछि २१ भदौमा बाँदरझुला टापुको घोलमा मृत गैँडा फेला पारको थियो।

    मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित भेटिए पनि टाउकोमा गोली लागेको घाउ थियो। तर, परीक्षणका क्रममा गोली भने फेला नपरेको रामले जानकारी दिए।

    चितवन राष्ट्रिय निकुञ्जमा यो आव शुरु भएपछि १७ साउनमा पहिलो गैँडा मृत फेला पारेको थियो। त्यसपछि ६ भदौमा पनि निकुञ्जभित्र मृत गैँडा फेला परेको थियो। रामका अनुसार ती दुवै गैँडाको खाग र खुर सुरक्षित रहेकाले प्राकृतिक कारणले मरेको मानिएको छ।

    सन् २०१५ मा गरिएको गैँडा गणनाअनुसार देशभर ६४५ गैँडा रहेकामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ वटा गैँडा भेटिएका थिए। पहिलो गैँडा गणनापश्चात निकुञ्ज क्षेत्रमा कालगतिका कारण ठूलो सङ्ख्यामा गैँडा मरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार