Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साराङघाटको क्रसर उद्योग बन्द गर्न निर्देशन


    शनिबार, असोज १७ २०७७
    800
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • तनहुँ । जिल्ला समन्वय समिति तनहुँले अवैध गिटी क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । जिल्लाको बन्दिपुर गाउँपालिका–६ सराङघाटमा सञ्चालन हँुदै आएको नमूना ग्रिड एण्ड क्रसर उद्योग बन्द गर्न समितिले निर्देशन दिएको हो । जिल्ला समन्वय समितिले यस अघि बन्द गर्न निर्देशन दिएपनि अटेर गरी सञ्चालन गर्दै आएकोले बन्द गर्न निर्देशन दिएको हो । समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

    उद्योगले गण्डकी प्रदेशले जारी गरेको कार्यविधिको व्यवस्था अनुसार वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृति नलिई उद्योग सञ्चालन गरेको भन्दै बन्द गर्न निर्देशन दिएको हो । बन्दीपुर गाउँपालिकाबाट उद्योगसम्बन्धी विवरण माग गरिएपनि त्यसमा वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएको पत्र प्राप्त नभएको भन्दै शर्त पुरा नहुँदासम्मका लागि उद्योग सञ्चालनमा रोक लगाउन बन्दीपुर गाउँपालिकालाई पत्र पठाउने निर्णय गरेको छ । त्यसैगरी उक्त समितिले व्यास नगरपालिका क्षेत्रभित्रका मादी नदीका विभिन्न ठाउँबाट ठेक्कापट्टा नहुँदै ढुङ्गा, गिटी, बालुवा उत्खनन्, सङ्कलन तथा ओसारपसार कार्य तीब्र भएको भन्दै उत्खननलाई बन्द गर्न निर्देशन दिएको छ ।

    आवश्यक प्रक्रिया पुरा नगरिकन उत्खनन् भएको देखिएकोले तत्काल रोक्न व्यास नगरपालिकामा लेखी पठाउने निर्णय गरिएको पनि उल्लेख गरेको छ । बैठकले मादी नदी नियन्त्रणका लागि जलश्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालयलाई व्यास नगरपालिकाको सिफारिस पाएपछि काम अघि बढाउन दिने निर्णय गरेको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार