काठमाडौं । लामो समयदेखि बन्द रहेको नेपाल-भारत उडान पुन: सञ्चालन गर्न प्रस्ताव गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतका लागि शर्तसहित हवाई उडान सुरु गर्न प्रस्ताव गरेको हो ।
भारतले यसअघि उडान खोल्नका लागि प्रस्ताव गरेको बताइएको छ । भारतले ‘एयर बबल स्किम’ प्रयोग गर्दै उडान सुरु गर्नका लागि भनेको र मन्त्रालयले सोही अनुसार काम गरेको बताइएको छ ।
भारतमा पछिल्लो समय कोरोना संक्रमण धेरै नै बढकाले यसबारे निर्णय लिन कठिन भएको बताइन्छ । ।
तर, नजिकिएको दशैं, भारतमा उपचार र अध्ययनका लागि जानु पर्ने वा त्यहाँबाट फर्कनु पर्ने ठूलो संख्यामा नेपाली हवाई उडान खुल्ने मितिको प्रतिक्षामा छन् । सोहीकारण उडान खुल्ने सम्भावना बढी रहेको र शर्तसहित खोल्ने तयारी भएको बताइएको छ । ती शर्तहरु भने सीसीएमसीले तोक्ने बताइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एयर बबल स्किममा सहभागी हुन सक्ने गरी भारतले गत अगस्ट मै नेपाललाई सन्देश पठाएको हो । यस्तो जानकारी भारतले नियमित उडान गर्दै आएका विश्वका सबै मुलुकलाई दिएको थियो ।
यो स्किमअनुसार भारतमा रहेका नागरिकलाई नेपालले स्वदेश फर्काउन हवाईमार्गको प्रयोग गर्न सक्छ । त्यसका लागि भारतले अनुमति पनि दिन्छ । सोहीअनुसार नेपालले भारतको उडानको तयारी गरेको प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार सरकारले उडानको मितिबारे निर्णय गर्नासाथ प्राधिकरणले एयरलाइन्सलाई उडान संख्या र अनुमति तोक्ने काम तत्काल सक्ने उनको भनाइ छ ।
१ कार्तिकमा उडान खोल्नेबारे प्रस्ताव सीसीएमसीबाट पास भएमा यो निर्णय मन्त्रिपरिषदमा जाने छ । मन्त्रिपरिषदले पास गरेपछि मात्र भारतका लागि उडान खोल्ने औपचारिक निर्णय हुनेछ ।