Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्लाहीको मलङ्गवामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी


    आइतबार, भाद्र २४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • मलङ्गवा (सर्लाही) । सर्लाही सदरमुकाम मलङ्गवामा हिजो शनिबारदेखि लगाइएको कर्फ्यु आज बिहान ८ बजेदेखि हटाइएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने जारी रहने जानकारी दिए ।

    कर्फ्यु हटाइएपछि मलङ्गवाको जनजीवन सामान्य बन्दै गएको छ । बजार, पसल खुल्न थालेका छन् भने यातायातका साधन चलन सुरु भएका छन् । सर्वसाधारणहरु आआफ्नो दिनचर्यामा व्यस्त हुन थालेका छन् । मलङ्गवाका विभिन्न स्थानमा अहिले पनि व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    व्यक्तिहरुले हिँडडुल गर्न पाउने, बजार पसल खोल्न पाउने तर विरोध जुलुस, धर्ना, आमसभा लगायतका कार्यक्रम गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

    मलङ्गवामा दुई पक्षबीच ढुङ्गा हानाहान तथा झडप हुन थालेपछि स्थानीय प्रशासनले हिजो शनिबार साँझ ५ बजेदेखि आज आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।

    अस्ति शुक्रबार साँझ कृष्ण जन्माष्टमीका मूर्ति सेलाएर फर्किने क्रममा झडप भएको थियो । त्यसै विषयलाई लिएर शनिबार पनि झडप हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार