काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षण शुल्क घटाउन गरेको आग्रह अटेर गर्नेको प्रयोगशालाको अनुमति खारेज हुने भएको छ ।
मन्त्रालयले बढी शुल्क लिएको भन्दै आठ वटा प्रयोगशालालाई तत्काल शुल्क घटाउन निर्देशन दिएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाका विभिन्न आठ वटा प्रयोगशालाले तोकिएको भन्दा बढी शुल्क लिएको पाइएको भन्दै तत्काल शुल्क समायोजन गर्न निर्देशन दिइएको जानकारी गराए।
ती प्रयोगशालाहरूले आगामी २४ घण्टामा शुल्क नघटाए परीक्षण स्वीकृति खारेज गरिने जनाए। त्यसका लागि राष्ट्रिय जनस्वास्थ्यलाई पत्राचार गर्न निर्देशन दिइसकिएको पनि उनले बताए।
मन्त्रालयको गुणस्तर मापन महाशाखाले बुझाएको प्रतिवेदनमा विभिन्न आठ वटा प्रयोगशालाले तोकिएको भन्दा बढी शुल्क लिने गरेको पाइएको हो।
बढी शुल्क लिनेमा ह्याम्स हस्पताल, डिकोड ल्याब, इन्टिपेड ल्याब, नेपाल मेडिसिटी, सिडिएल, स्टार अस्पताल, बिएन्डबी र सूर्य हेल्थ केयर छन्।
सरकारले सबै प्रयोगशालालाई अधिकतम २ हजार रुपैयाँ लिएर पीसीआर परीक्षण गर्न भनेको छ। तर ती प्रयोगशालाले विज्ञप्ती जारी गर्दै आफूखुशी बढी शुल्क असुलिरहेका हुन् ।