काठमाडौं । नेपालीहरुको महान चाड दशैं नजिकिँदै गर्दा आन्तरिक उडानको कोटा बढेको छ । सरकारले बिहीबारदेखि लागू हुने गरी कोटा वृद्धि गरेको हो । यसअघि आन्तरिक उडान पुन: सञ्चालन गर्दा नेपाल नेपाल नागरिक उड्डयन प्राधिकरणले १४ असोजसम्मको मात्रै तालिका दिएको थियो ।
असोज १५ देखि लागू हुने गरी आएको नयाँ तालिका अनुसार भने कोटा वृद्धि भएको बताइएको छ । नयाँ तालिका भने अक्टोबर महिनाको लागि रहेको प्राधिकरणले जनाएको छ ।
बढेको कोटा अनुसार बुद्ध एयरले दैनिक २५ ओटा उडान गर्न पाउने छ । यसअघि बुद्धले दैनिक १८ उडान मात्र गर्न पाउँथ्यो ।
यस्तै दैनिक ११ ओटा उडान अनुमित पाएको यतिले अब दैनिक १८ ओटासम्म उडान गर्न सक्ने भएको छ । यस्तै श्री एयरले पनि दैनिक १२ उडानको अनुमति पाएको छ । यसअघि दैनिक ६ ओटा उडानको अनुमति पाएपनि श्री एयरले अहिलेसम्म उडान भने गरेको छैन ।
यस्तै प्राधिकरणले सिम्रिक र सौर्यलाई २/२ उडानको अनुमति दिएको छ । यसअघि यी दुई एयरलाइन्सलाई एक/एक उडानको अनुमति दिइएको थियो ।
दुर्गम भेगमा काठमाडौंबाट उडान गर्ने समिट, तारा र सीता एयरले समेत अब दैनिक चार वटा उडान गर्न सक्ने भएका छन् । यसअघि यी कम्पनीले तीन/तीन उडान गर्ने सक्ने गरी प्राधिकरणबाट तालिका प्राप्त गरेका थिए ।