काठमाडौं । मलेसियामा रहँदा नेपालीलाई अपहरण गरेको अभियोगमा प्रहरीले मोरङका डेभिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई मंगलबार साँझ महाराजगन्जबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीविरुद्ध गत जुन महिनामा जाहेरी परेको थियो । मलेसियामा रहँदा डेबिडले आफ्नै रेष्टुरेन्टमा काम गर्ने दाङका मोहम्मद रैदासलाई अपहरण गरेको जाहेरी परेको थियो। पीडितकी श्रीमतीले श्रेष्ठविरूद्ध जाहेरी दिएकी थिइन्। तर, पीडित भने मलेसियामै छन्।
सोही जाहेरीको आधारमा प्रहरीले उनविरुद्ध पक्राउ पूर्जी जारीसमेत गरेको थियो।
हाल उनी मलेसियाबाट काठमाडौं फर्किएको सूचना पाएपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो।
प्रहरीले अहिले पीडित मोहम्मदलाई उद्धार गर्ने र डेभिडमाथि थप अनुसन्धान गर्न काम भैरहेको जनाएको छ ।