भवनाथ खतिवडा, राजन पौडेल र मनोजकुमार आचार्य
काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेका उपसचिवहरुमध्ये अधिकांश खटाएको तहमा गएका छैनन् । लोकसेवा आयोग पास गरेपछि सधैं केन्द्रमा बसेर सचिव र मन्त्रीसँग नजिक भई लाभ लिन पल्किएका उपसचिवहरु सामान्य प्रशासन मन्त्रालयले नगरपालिकामा सरुवा गरेपछि मन्त्रीदेखि सचिवसम्मबाट दबाब दिन लगाई सरुवा रोक्ने खेलमा लागेका छन् ।
संघीय मन्त्रालयमा काम गरेपछि मन्त्री र सचिवसँग सम्बन्ध हुनु स्वभाविक हो । तर त्यही चिनजान भएकै आधारमा मन्त्री र सचिवले ‘फलानो नभए मेरो हात भाँचिन्छ’ भन्दै सरुवा रोक्न दबाब दिंदा सामान्य प्रशासन मन्त्रालयलाई स्थानीय तहमा कर्मचारी खटाउनै समस्या भएको छ । यसरी सधैं केन्द्रमा आकर्षक कार्यालय वा मन्त्रालयमा बसी मन्त्री र सचिवसँग घनिष्ठता बढाएका र कुस्त कमाएका उपसचिवहरुको अभिलेख हेरी सामान्य प्रशासन मन्त्रालयले २०७७ भदौ २८ मा २५ र भदौ ३० मा ९ गरी ३४ उपसचिवको सरुवा गरेको थियो । सरुवा भएकामध्ये अधिकांश उपत्यकामा मन्त्रीको निजी सचिव भएका वा विदेशी नियोगमा काम गरिसकेकाहरु रहेका छन् । जागिर खाएदेखि काठमाडौंमै मात्र बसेका उपसचिवहरुलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएपछि उनीहरु मन्त्री र सचिवमार्फत् दबाब दिई खटाएको ठाउँमा गएका छैनन् ।
संखुवासभाको खाँदबारी नगरपालिकामा सरुवा भएका उपसचिव भवनाथ खतिवडाले भदौ २९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पत्र ल्याए । अख्तियारमा सरुवाका लागि सहमति ल्याएपछि सामान्य प्रशासनबाट उनले गरेको कपटी कार्य आयोगका सम्बन्धित अधिकारीलाई जानकारी गराइएको थियो । अख्तियारले त्यो कुरालाई तुरुन्तै बदर गरेपछि खतिवडा अहिले तिल्मिलाएका छन् । खाँदबारी उपसचिवका लागि राम्रै नगरपालिका मानिन्छ । खतिवडा दीपक बोहरादेखि उपेन्द्र यादव स्वास्थ्य मन्त्री हुँदा निजी सचिवका रुपमा सेटिङ गर्न माहिर उपसचिव हुन् । उनी ४ बर्ष ओमनका श्रम सहचारी समेत भइसकेका हुन् ।
त्यस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयका उपसचिव शेखर पौड्यालको सरुवा सुर्खेतको पंचपुरी नगरपालिकामा भएको छ । घरपायक सरुवा भएका उनी पनि सरुवा भएको ठाउँमा जान मानिरहेका छैनन् । राजस्व अनुसन्धान विभागमा ३ बर्ष, जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बर्षौ बर्ष काम गरी अकूत सम्पत्ति आर्जन गरेका पौड्याल पनि सरुवा भएको कार्यालयमा नजान विभिन्न शक्तिकेन्द्रबाट दबाब दिइरहेका छन् । उनी जाँदै जान्न भनेर चुनौती दिइरहेका छन् । ७ बर्षअघि उपसचिव बढु्वा भएकी प्रदर्शनीकुमारी काठमाडौंबाट कहिल्यै बाहिर जानुपरेको छैन । उनलाई पहिलो पटक भ्यालीबाहिर २ नम्बर प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ । तर उनी पनि सरुवा भएको कार्यालयमा नजान दबाब दिइरहेकी छन् । उनलार्इं उनी कार्यरत उद्योग मन्त्रालयले समेत कार्यक्षमता नभएपछि सरुवा गर्ने तयारी गरेको थियो ।
पर्यटन मन्त्रालयमा कार्यरत उपसचिव राजन पौडेल, रक्षा मन्त्रालयमा कार्यरत मनोजकुमार आचार्य नेकपाका नेताहरुमार्फतु सरुवा संशोधन गराउन तल्लीन छन् । रक्षामन्त्री इश्वर पोखरेल र पर्यटन मन्त्री योगेश भट्टराईमार्फत् उनीहरुले सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी र सचिव सूर्य गौतमलाई दबाब दिने क्रम जारी नै राखेका छन् । पौडेल रौतहटको राजदेवी नगरपालिकामा सरुवा भएका छन् । तर गएका छैनन् ।
आचार्य अहिलेसम्म भ्यालीबाहिर गएका छैनन् । सहसचिव बढुवाका लागि दुर्गमको नम्बर लिनका लागि समेत उनी एकचोटी पनि उपत्यकाबाट बाहिर गएका छैनन् । सहसचिव बढुवा हुनका लागि दुर्गममा काम गर्नैपर्ने भए पनि उनी त्यो समेत छाडेर भ्यालीमै रमाएकोमा यो पटक सर्लाहीको इश्वरपुर जस्तो नगरपालिकामा समेत नजान उपप्रधानमन्त्री पोखरेलमार्फत् दबाब दिइरहेका छन् । उनी दुर्गममा काम गरेको भए अघिल्लो बर्ष नै सहसचिव बढुवा भइसक्थे ।
भ्यालीबाहिर कहिल्यै नगएका पर्यटन मन्त्रालयका उपसचिव दुर्गाप्रसाद भुर्तेलको सरुवा बृन्दावन नगरपालिका रौतहटमा भएको छ । उनी पनि त्यहाँ नजान भएभरको शक्ति प्रयोग गरी लागेका छन् । यी केही उदाहरण हुन्, राज्यले खटाएको ठाउँमा नजान दबाब दिने अरु उपसचिवहरु पनि छन् ।