काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि सञ्चालन हुने भएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले असोज १९ गते (अक्टोबर ५ तारेख) देखि चीनबाट सामान नेपाल आइपुग्ने अनलाइनखबरलाई जानकारी दिए ।
मंगलबार प्रमुख जिल्ला अधिकारी ढकाल नेतृत्वको नेपाली टोली र ल्हासाको फरेन अफिसका डेपुटी डाइरेक्टर लि उलिन नेतृत्वको टोलीबीच नाका खोल्ने विषयमा सहमति भएको हो ।
दुई देशको टोलीबीच असोज १८ गतेसम्म तयारी पूरा गर्ने र १९ गतेबाट चिनियाँ सामान नेपालमा झार्ने व्यवस्था गर्ने सहमति भएको प्रजिअ ढकालले जानकारी दिए । नाका खुल्ने दिनसम्म नेपालले लोड अनलोड गर्ने मजदुरको टोली तयारी अवस्थामा राख्नुपर्नेछ ।
तातोपानी भन्सार कार्यालय प्रमुख लालाबहादुर खत्रीका अनुसार चीनबाट ल्याएका सामान लोड अनलोड गर्न पीसीआर रिपोर्ट नेगेटिभ आएका २५ जना र २९ जनाको दुई वटा श्रमिक समूह तयारी अवस्थामा रहनेछ ।