सर्लाही । सर्लाहीमा कोरोनाको कारण थप एक जनाको मृत्यु भएको छ । योसँगै सर्लाहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ।
नारायणी क्षेत्रीय अस्पताल वीरगन्जमा उपचाररत बरहथवा नगरपालिका–६ का ७० वर्षीया वृद्धाको मंगलबार बिहान मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि आइतबार अस्पतालमा भर्ना गरिएको वृद्धामा सोमबार बिहान कोरोना पुष्टि भएको थियो। नेसनल मेडिकल कलेजले स्थापना गरेको अस्थायी कोरोना अस्पतालमा उनको मृत्यु भएको बरहथवा नगरपालिका-६ का वडाध्यक्ष मोहम्मद अफताब आलमले जानकारी दिए।
उनका अनुसार मृतकमा मधुमेहको रोग थियो। शव आजै ल्याएर सरकारले बनाएको मापदण्ड अनुसार बागमती नगरपालिका–११ स्थित बागमती खोलामा नेपाली सेनाले व्यवस्थापन गरेको छ। नेपाली सेना रणशेर गण पाँचकुमारीका सेनानी (मेजर) ऋषि न्यौपाने नेतृत्वको टोलीले शव व्यवस्थापन गरेको हो।