Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँ महानगरका ३२ वटै वडाको राजस्व प्रणाली अनलाइनमार्फत्


    आइतबार, असोज ११ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • काठमाडौं । काठमाडौँ महानगरपालिकाले विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा संकलन कार्यको थालनी गरेसँगै वडा–४ धुम्बाराहीका मदन कोइरालाले केही दिन अघि मात्रै वडा कार्यालयमै पुगेर अनलाइनमार्फत सम्पत्ति कर शीर्षकमा भुक्तानी गर्नुभयो ।

    विगतका वर्षहरुमा लामो समयसम्म लाइनमा बसेर निकै झण्झटिलो तरिकाले कर तिर्दै आउनुभएका कोइरालाले पहिलो पटक अनलाइनमार्फत लाइन नवसी कर तिर्न पाउँदाको खुशी साट्दै भन्नुभयो– ‘अहिले कोभिड–१९ को महामारी चलिरहेका बेला विना भिडभाड अनलाइनमार्फत कर भुक्तानी गर्न पाउँदा उत्साहित छु ।’ कोइरालाले पढे–लेखेकाहरुका लागि यो प्रणाली निकै प्रभावकारी भए पनि साधारण लेखपढ गर्नसम्म मुस्किल पर्नेहरुका लागि भने समस्या हुने हो कि भन्ने संसय व्यक्त गर्नुभयो । त्यस्ता करदातालाई समेत अनलाइनमार्फत भुक्तानी गर्न सक्ने प्रणालीको विकास गर्ने हो भने प्रभावकारी हुने उहाँको भनाई छ ।

    पहिलो पटक भएकाले आफू कार्यालयमै पुगेर भुक्तानी गरेको भन्दै कोइरालाले आगामी दिनमा घरमै बसेर भुक्तानी गर्न सकिनेमा आफू आशावादी रहेको भन्दै महानगरपालिकाको यो पहल सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । ग्रिनहिल सिटीका गोपाल भट्राईले पनि चालु आर्थिक वर्षको सम्पत्ति कर शीर्षकमा करीब ७ लाख भुक्तानी गरेको जानकारी दिनुभयो । पहिलो पटक अनलाइनबाटै कर भुक्तानी गर्न पाउँदा उहाँले पनि खुशी लागेको बताउनुभयो । ‘विना झण्झट र छिटो–छरितो तरिकाले कर भुक्तानी गर्न सकिने यो स्मार्ट प्रणाली एकदम प्रभावकारी छ । काठमाडौँ महानगरपालिका स्मार्ट प्रणालीमा अघि बढ्दै छ भन्ने सन्देश यसले दिएको छ,’ उहाँले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाले जुन कुराको थालनी गरेको छ । यो आगामी दिनमा पनि अझ प्रभावकारी बन्न सकोस्, कामना ।’ उहाँले कर्मचारीबाट समेत राम्रो सहयोग प्राप्त भएको भन्दै आगामी दिनमा सिष्टम डाउन हुने, ह्याङ हुने जस्ता समस्या आउन नदिने हो भने थप सरकारात्मक सन्देश जाने बताउनुभयो ।

    सम्पत्ति कर शीर्षकमै भुक्तानी गर्नुभएका चुनदेवीका सुमन केसीको पनि भनाई कोइराला र भट्राईको भन्दा फरक छैन । उहाँले काठमाडौँ महानगरपालिका समय, परिस्थिति अनुसार प्रविधिको उच्चतम प्रयोग गर्दै अघि बढेको भन्दै सकारात्मक कामको थालनी भएको बताउनुभयो । ‘यो प्रणालीको सुरुवात भएकोमा खुशी छु र मैले लाभ पनि लिएको छु,’ उहाँले भन्नुभयो, ‘यो कामको थालनी धेरै अघि हुनुपर्ने हो । ढिला भयो, ढिला भए पनि राम्रो भयो ।’ यी माथिका करदाताका प्रतिनिधि भनाई हुन् । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल पनि विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा संकलन कार्यको थालनी गरेसँगै सकारात्मक प्रतिक्रिया आएको बताउनुहुन्छ ।

    ‘आर्थिक वर्ष २०७७-०७८ को नीति तथा कार्यक्रममै काठमाडौँ महानगरपालिकाले संकलन गर्ने कर, सेवा शुल्क तथा जरिवानालाई बैकिङ तथा विद्युतीय प्रणालीबाट गर्ने उल्लेख गरेका थियौँ,’ अर्यालले भन्नुभयो, ‘अहिले कोभिड–१९ को महामारीका बीच पनि यो प्रणालीको विकास गरी सकारात्मक कामको थालनी गरेका छौँ । अनलाइन मार्फत राजश्व भुक्तानीको सुरुवातसँगै वडाहरुमा सेवाग्राहीको भिडभाड कम हुने र सेवा पनि प्रभावकारी हुने अपेक्षा लिएका छौँ ।’ उहाँले आगामी दिनमा अनलाइन प्रणालीलाई थप प्रभावकारी बनाउँदै लैजाने जानकारी समेत दिनुभयो । ‘अबको प्रशासन सहभागितामुलक र पारदर्शी हुनुपर्छ । यसका लागि प्रबिधि नै उपयुक्त विकल्प हो भन्ने हेतूका साथ हामी अघि बढेका छौँ,’ उहाँले भन्नुभयो, ‘महानगरका हरेक सेवालाई अब विस्तारै विद्युतीय प्रणालीमा रुपान्तरण गर्दै लैजान्छौँ ।’

    राजस्व बिभागका निर्देशक शिवराज अधिकारीले असोज १ बाट अनलाईन सेवा सुरु गरेको भन्दै ११ दिनमै १ करोड ६० लाख राजस्व असुली गरेको जानकारी दिनुभयो । ‘हामी असोज १३ बाट ३२ वटै वडाबाट सेवा सुरु गर्दैे छौँ,’ उहाँले भन्नुभयो, ‘सेवा सुरु गरेको ११ दिनमा विभिन्न वडाबाट ८ सय ५० करदातामार्फत अनलाइन प्रणालीमार्फत राजश्व असुली भएको छ । आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्ने अपेक्षा गरेका छौँ ।’ उहाँका अनुसार यो अवधीमा सबै भन्दा बढी घर–बहाल करमार्फत ७८ लाख ३७ हजार बढी प्राप्त भएको छ । त्यसैगरी सम्पत्ति कर शीर्षकमा २० लाख ८३ हजार संकलन भएको छ । उहाँले सबै वडाका कर्मचारीको क्षमता विकासका लागि प्रणालीको प्रयोगात्मक सिकाइका कक्षा सञ्चालन गरिरहेको भन्दै त्यसलाई सबैको पहुँचमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘काठमाडौँ महानगरपालिका भित्र करीब ३ लाख करदाता रहेका छन् ।

    आगामी पुससम्ममा सबै करदातालाई अनलाइन प्रणाली भित्र ल्याउने हाम्रो लक्ष्य छ,’ अधिकारीले भन्नुभयो, ‘यसो भएपछि कर तथा राजस्वको अभिलेखन, कर निर्धारण तथा असुली सम्बन्धी कामलाई स्वचालित बनाउन सकिन्छ ।’ उहाँले आर्थिक वर्ष २०७६÷०७७ मात्रै ८३ प्रतिशत राजस्व असुली गरेको जानकारी दिनुभयो ।

    ‘हामीले कोभिडको माहामारीका बीच पनि यो आर्थिक वर्षमा समेत अनलाइन प्रणालीमार्फत अधिकतम राजस्व संकलन गर्ने अपेक्षा गरेका छौ ।’ उहाँले सबै प्रकारका कर, राजस्व, दस्तुर र शुल्क भुक्तानी गर्न र आफूले भुक्तानी गरेको रकमको रसिद प्राप्त गर्न के–के गर्नुपर्छ भन्ने ‘डेमो’ केही दिनमै सार्वजनिक गर्ने तयारीमा रहेको भन्दै त्यसले करदाताहरुलाई थप सहज हुने बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार