Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागलुङमा ७ हजार ८ सयले गरे कोरोना बीमा


    शनिबार, असोज १० २०७७
    705
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • गलकोट। बागलुङमा साढे सात हजारभन्दा बढीले कोरोना बीमा गरेका छन् । कोरोना भाइरस सङ्क्रमण बढेसँगै बागलुङमा हालसम्म सात हजार ८८६ जनाले बीमा गरेका हुन् । तीमध्ये तीन जनाले मात्रै बीमा रकम दाबी गरेका छन् । बीमा रकम दाबी गरेकामध्ये दुई जनाले बीमा कम्पनीबाट भुक्तानी लिइसकेका छन् भने एक जना लिने प्रक्रियामा रहेको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार बागलुङमा हालसम्म ३ सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ ।

    बीमा गरेका दुई जनाले आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबाट बीमाबापत रु एक लाख रकम भुक्तानी लिनुभएको छ भने बागलुङ काठेखोलाको क्वारेन्टिन व्यवस्थापन र सुरक्षामा खटिएका सुरक्षाकर्मीले पनि बीमाबापतको रकम भुक्तानीका लागि प्रक्रिया अगाडि बढाएको उहाँले बताउनुभयो । बीमा समितिले निर्जीवन बीमा कम्पनी र नेपाल पुर्नबीमा कम्पनीसँग समन्वय गर्दै २० वटा निर्जीवन बीमा कम्पनीलाई कोरोना बीमा गर्ने अनुमति प्रदान गरेको थियो । तीमध्ये बागलुङमा १३ वटा निर्जीवन बीमा कम्पनीले कोरोना बीमाको काम गरिरहेका छन् । हालसम्म सबैभन्दा धेरै आइएमई जनरल इन्स्योरेन्स कम्पनीले चार हजार जनाको कोरोना बीमा गरेको छ ।

    बीमा दाबी गर्ने तीनै जना बीमित पनि यही बीमा कम्पनीका हुन् । यस्तै एभरेष्ट इन्स्योरेन्स लिमिटेडले २ हजार ८००, प्राइम इन्स्योरेन्सले ४०५, अजोध इन्स्योरेन्स बुर्तिवाङले २००, निको इन्स्योरेन्सले १५६, प्रभु इन्स्योरेन्सले ११८, शिखर इन्स्योरेन्सले ७०, सगरमाथा इन्स्योरेन्सले ५६, नेपाल इन्स्योरेन्सले ८८, लुम्बिनी जनरल इन्स्योरेन्सले १२, प्रुडेन्सियल इन्स्योरेन्सले ७७ र जनरल इन्स्योरेन्सले चार जनाको कोरोना बीमा गरेका छन् । कोरोनाको जोखिम सुरक्षणका लागि वैशाख ७ गतेदेखि विक्रीमा ल्याइएको यो पोलिसी शुरुवातमा सुस्त गतिमा भए पनि अहिले समुदायस्तरमा सङ्क्रमण फैलिन थालेपछि बीमा गर्नेको सङख्या बढिरहेको बीमा कम्पनीहरूले बताएका छन् । “पछिल्लो समय बीमाको कार्यालय खोज्दै आउनेको सङ्ख्या बढेको आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका बागलुङ शाखा प्रमुख माधव सापकोटाले बताउनुभयो । “शुरुमा स्थानीय तह, सहकारी सङ्घ संस्था, बैंक र स्वास्थ्य संस्थाहरुमा फोन गरी बीमा गर्नुस् भन्नुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “हिजोआज सङ्घ संस्था मात्र होइन, व्यक्तिगत रुपमा बीमा गर्नेहरु पनि कार्यालय खोज्दै आउन थाल्नुभएको छ ।” कोरोना सङ्क्रमण पुष्टी भएपछि होम आइसोलेसनमा बसेका बीमितलाई रु २५ हजार र सरकारी आइसोलेसनमा बसेर सरकारी सेवा सुविधा लिएकाहरुले भने बीमा दाबी भुक्तानी नपाउने उहाँको भनाइ छ ।

    बीमा समितिले ‘कोरोना बीमा मापदण्ड २०७७’ जारी गर्दा नेपाल सरकारद्वारा अनुमती प्राप्त प्रयोगशालामा गरिएको परीक्षणलाई मात्र मान्यता दिने भनिएको थियो । तर, निजी प्रयोगशालाले कोरोनाको परीक्षण गर्ने अनुमती प्राप्त गरेकाले निजी प्रयोगशालामा परीक्षण गरिएकाहरुले पनि दाबी भुक्तानी पाउने विषयमा भदौ २१ गते कोरोना बीमा मापदण्ड संशोधन उपसमिति गठन भएको छ । निर्जीवन बीमा कम्पनीहरुले बिक्री गरिरहेको बीमा पोलिसी बागलुङमा रु एक लाख र रु ५० हजारको छुट्टाछुट्टै रकमको बीमा तोकेका छन् । रु एक लाखको बीमाका लागि प्रतिव्यक्तिले रु एक हजार प्रिमियम (बीमा शुल्क) तिर्नुपर्छ । सामूहिक रुपमा घर परिवार वा कार्यालयका कर्मचारीको बीमागर्दा प्रतिव्यक्ति रु ६०० तिरे पुग्छ । त्यस्तै रु ५० हजार बीमांकको बीमांलेखका लागि प्रतिव्यक्ति रु ५०० र सामूहिक रुपमा प्रतिव्यक्ति रु ३०० मा बीमा गर्न सकिन्छ । यी दुवै बीमालेख गर्दा सरकारले ५० प्रतिशत अनुदान दिन्छ । सरकारी कर्मचारीहरुको सामूहिक कोरोना बीमा गर्दा शतप्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्था छ ।

    बीमा दाबीको लागि बीमालेख खरिद गरेको १५ दिनपछि पीसिआर परीक्षणबाट कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएमा बीमालेख बमोजिमका कम्पनीहरुले दावी भुक्तानी गर्ने छन् । बीमा कम्पनीले दावी निवेदन पेश गरेको ७ दिनभित्र बीमितलाई भुक्तानी दिनुपर्ने छ । यदी दाबी भुक्तानी नहुँदै बीमितको मृत्यु भएमा उसले इच्छाएको व्यक्ति वा कानूनी हकवालालाई भुक्तानी गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार