Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुपर आँखुखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन 


    शुक्रबार, असोज ९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । गोरक्ष हाइड्रोपावर प्रा.लि.द्वारा प्रवद्र्धित २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न भएको छ ।

    आयोजनाको कुल लागत रु. ४ अर्ब ५६ करोडको ७५ प्रतिशत अर्थात् रु.३ अर्ब ४२ करोड ऋण लगानी गर्न प्रभु बैंक लि.को नेतृत्वमा कर्मचारी संचय कोष र कृषि विकास बैंक लि.ले कम्पनीसँग ऋण लगानी संझौता गरेका हुन् । प्रभु बैंक लि.ले रु. १ अर्ब ८२ करोड, कर्मचारी संचय कोषले रु.८५ करोड र कृषि विकास बैंक लि.ले रु.७५ करोड ऋण लगानी गर्ने गरी सम्झौता भएको छ ।

    gorakchya 1.jpg

     कुल लागतको २५ प्रतिशत रु. १ अर्ब १४ करोड कम्पनीले संस्थापक र सर्वसाधारणबाट पूँजी मार्फत् जुटाउनेछ । ऋण सम्झौतामा लिड बैंकको तर्फबाट प्रमुख बिजनेस अधिकृत रेणुप्रसाद पाण्डे, कर्मचारी संचय कोषका तर्फबाट ट्रेजरी तथा लगानी शाखा प्रमुख अर्जुनकुमार गौतम र कृषि विकास बैंकका तर्फबाट कर्जा लगानी शाखा प्रमुख मिनराज पोखरेल र गोरक्ष हाइड्रोपावर प्रा.लि.का तर्फबाट प्रबन्ध संचालक रघुनाथ पुरीले हस्ताक्षर गरेका छन् ।

    कम्पनीले धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिकामा २५.४ मेगाबाट क्षमताको आयोजनाको निर्माण कार्य अगाडि बढाइरहेको छ । कम्पनीले सो आयोजना डिसेम्बर २०२३ (पौष २०८०) भित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । सुख्खायाममा ४१.६३ गिगावाट आवर र वर्षायाममा ९९.६३ गिगावाट आवर गरी कुल वार्षिक १३८.२६ गिगावाट आवर विद्युत उत्पादन हुनेछ । कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग टेक अर पे आधारमा विद्युत खरिद बिक्री संझौता पीपीए गरिसकेको छ ।

    कम्पनीका प्रबद्र्धकहरुमा अध्यक्ष एलपी सावाँ लिम्बु र प्रबन्ध निर्देशक रघुनाथ पुरी रहेका छन् भने संचालकहरुमा बालकृष्ण शिवाकोटी, राजु रेग्मी र इश्वरबहादुर अधिकारी छन् । 

    उक्त हाइड्रोपावरमा जर्मनी र अमेरिका लगायत प्रवासमा रहेका नेपालीहरुको समेत लगानी रहेको छ । मुख्यगरी ओभरसिज नेपलिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेड यो आयोजनामा प्रबद्र्धक रहेको छ । ओभरसिज नेपलिज इन्भेष्टमेन्ट कम्पनी संयुक्त अरब इमिरेट्स(यूएई)मा रहेका नेपालीहरुको लगानीमा स्थापना गरिएको संस्था हो ।  

    gorakchya 3.jpg गोरक्ष हाइड्रोपावरका प्रबद्र्धकहरु 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार