काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। संक्रमणबाट सप्तरीको राजविराज ३ का ७० वर्षीय पुरुष र मोरङको कानेपोखरी १का ५५ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो।
भदौ २५ गते कोरोना संक्रमण पुष्टि भएका सप्तरीका ७० वर्षीय पुरुष भदौ २८ गते अस्पताल भर्ना भएका थिए। अस्पताल भर्ना हुँदा नै उनमा निमोनियाका साथै ज्वरो आउने, खोकी लाग्ने र श्वासप्रश्वासमा पनि समस्या देखिएको अस्पतालले जनाएको छ।
यस्तै मोरङका ५५ वर्षीय पुरुष असोज ५ गते अस्पताल भर्ना भएका थिए। आन्द्रामा क्यान्सर भएर शल्यक्रिया गराएका पुरुषको शरीरको अन्य भागमा पनि क्यान्सर फैलिसकेकोले उनी प्रतिष्ठानकै आईसीयू कक्षमा उपचाररत थिए। उपचारकै क्रममा ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या देखिएपछि कोरोना परीक्षण गर्दा उनमा असोज ८ गते संक्रमण पुष्टि भएको थियो।