ललितपुर । कोरोना महामारीमा सरकारले विद्यालय खोल्ने निर्णय गरेको छैन । तर ललितपुर–१४ स्थित लोहाचोकमा रहेको श्री चोइना विणा गुरु गणेश आधारभूत विद्यालयमा भने विद्यार्थीलाई कक्षा संचालन हुने भनेर उपस्थित हुन घर घरमा खबर गर्दै बोलाउने गरिएको छ । उक्त विद्यालयका शिक्षकहरुलाई विद्यार्थीलाई बोलाएर कक्षा संचालन गर्न प्रधानाध्यापक भीमप्रसाद गेलालले नै निर्देशन दिएका छन् । र, केही दिनदेखि जबर्जस्ती कक्षा संचालन गर्दैआएका छन् । कोरोना महामारीका कारण सबै विद्यालय बन्द छन् । तर प्रअ गेलालले भने २०७७ भदौ १ देखि नै उक्त सरकारी विद्यालयमा जबर्जस्ती अध्ययन गराउन शिक्षकहरुलाई दबाब दिएका छन् ।
प्रअ गेलालका कारण शिक्षकहरु कोरोना अघिकै जस्तो विद्यार्थीलाई बोलाउँदै पढाउन बाध्य छन् । उनले कोरोना केही पनि होइन भन्दै शिक्षकलाई विद्यार्थी उपस्थित गराएर पढाउन दबाब दिएका छन् । विद्यालयले पढाइ हुन्छ भनेर विद्यार्थीलाई उपस्थित हुन सूचना पठाए पनि अभिभावकहरु भने त्रासमा छन् । उक्त विद्यालयमा मजदुरहरुका छोराछोरी अध्ययन गर्दछन् ।
विद्यालयका प्रधानाध्यापक गेलालले पढाउन होइन, विद्यार्थीलाई भर्ना गर्नका लागि बोलाएको प्रतिक्रिया दिएका छन्–‘१० जना विद्यार्थी आएका हुन्, भर्ना गर्नमात्र बोलाएको हो, स्कुल खोलेको होइन ।’ यद्यपि उनले भदौ १ देखि निरन्तर विद्यार्थीलाई बोलाएको एक अभिभावकले नेपालफेससँग गुनासो गरेका छन् ।
विद्यालयमा अध्ययन गराएकोबारेमा ललितपुर महानगरपालिका शिक्षा शाखा प्रमुख महेन्द्र खत्रीको प्रतिक्रिया यस्तो छ–‘शिक्षकहरु विद्यालयमा आउनुपर्छ । विद्यालयमा आएर कार्ययोजना बनाउनुपर्छ । तर विद्यालय खोलेर कक्षा संचालन गर्न भने पाइँदैन । १० जनासम्मलाई बोलाएर पालोपालो पढाउने कुरा जायज हुनसक्छ । तर सबैलाई बोलाएर पढाउनुहुँदैन । महामारीमा अनलाइन कक्षा संचालन गर्ने वा अभिभावकले भनेको ठाउँमा १० जनासम्म विद्यार्थीलाई सामाजिक दूरी कायम गरी पढाउने विकल्प अपनाउन सकिन्छ । वडाको समन्वयमा सिकाइ केन्द्र संचालन गर्न सकिन्छ । तर पहिलाको जस्तो कक्षा संचालन गर्न सकिंदैन । श्री चोइना विणा गुरु विद्यालयले पहिलाकै जस्तो गरी पढाएको हो कि होइन, हामी बुझ्छौं ।’