काठमाडौं । कोरोना महामारीका कारण रोकिएका त्रिभुवन विश्वविद्यालयका परीक्षा मंसिर तेस्रो सातादेखि हुने भएका छन्। यसका लागि असोज २५ गते परीक्षा तालिका प्रकाशित हुने भएको छ।
बिहीबार त्रिभुवन विश्वविद्यालय वार्ता समिति र आन्दोलनरत नेपाल विद्यार्थी संघबीच सहमति भएको छ। सहमतिअनुसार, असोज २५ गते परीक्षा तालिका निकालिने भएको छ।
यस्तैगरी कोरोनाका कारण रोकिएका परीक्षा मंसिर तेस्रो सातादेखि हुने भएका छन्। त्रिवि र नेवि संघबीच भएको सहमतिअनुसार त्रिविले अब परीक्षा सञ्चालन गर्ने भएको हो। दुवै पक्षबीच भएको २३ बुँदे सहमतिअनुसार, अब त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले नियम लत्याएर समाजशास्त्र केन्द्रीय विभागको प्रमुखमा सह–प्राध्यापक युवराज लुइँटेल र भाषाविज्ञान केन्द्रीय विभागमा प्रा.डा. बलराम प्रसाईंलाई गरेको नियुक्ति सच्याइने भएको छ।
त्यस्तै, नेविसंघ त्रिवी समितिले पनि त्रिविका पदाधिकारी निषेध लगायतका सम्पूर्ण आन्दोलन फिर्ता लिएको छ। प्रमुख प्रतिपक्षी कांग्रेसको भातृ संस्था नेविसंघले पछिल्लो सयम विभिन्न माग राखेर प्रदर्शन गर्दै आएको थियो। त्रिवि वार्ता समितिका तर्फबाट गंगाबहादुर मगर र नेवि संघका तर्फबाट सम्झना केसी, जगदिश भट्ट, हरि आचार्य र श्यामचन्द्र अधिकारीबीच बिहीबार सहमति भएको हो।

