काठमाडौं । पछिल्लाे समय कर्मचारी सरुवाका विषयमा संघीय सरकार र प्रदेश २ सरकारबीचको टकराव अवस्था बन्दै आएकाे छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छोटो अवधिमै मन्त्रालयका सचिवको सरुवा हुँदा काम गर्न असजिलो भएको गुनासो संघीय सरकारसमक्ष गरेका थिए । त्यसपछि सरकारले त्यहाँ कर्मचारीकाे व्यवस्था गरेकाे थियाे।
तर प्रदेश २ का भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा सरुवा भइ हाजिर हुन गएकी सचिव सम्झना काफ्लेमाथि दुर्व्यवहार भएको छ । संघीय कृषि मन्त्रालयबाट प्रदेश २ को कृषि मन्त्रालयमा सरुवा भएकी उनलाई मन्त्री शैलेन्द्र साहले हाजिर हुन दिइरहेका छैनन् ।
सचिव काफ्ले बुधबार हाजिर हुनका लागि मन्त्रालयमा गएकी थिइन् । तर मन्त्रीका स्वकीय सचिव नवनित झाले बाहिरका मान्छेहरु लगेर होहल्ला गर्नुको साथै सचिवको कार्यकक्षमा तल्चा लगाइ हाजिर हुनबाट रोकेका छन् । कर्मचारीहरुले सचिव काफ्लेलाई स्वागत गरिरहेको ठाउँमै पुगेर उनीहरुले होहल्ला गर्नुको साथै कर्मचारीहरुलाई दुर्व्यवहारसमेत गरेका थिए ।
सचिवलाई हाजिर हुनबाट रोकेपछि त्यहाँका कर्मचारीले प्रदेश २ सरकारका प्रमुख सचिव अर्जुनप्रसाद पोखरेललाई भेटेर ध्यानाकर्षण गराएका थिए । मन्त्रालयमा आफूहरु असुरक्षित रहेको भन्दै उनीहरुले प्रमुख सचिव पोखरेलसँग सुरक्षा माग गरेका थिए ।