Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भूकम्पपीडितबाट घुस लिने प्राविधिक जागिरबाट बर्खास्त


    बिहिबार, असोज ८ २०७७
    695
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • ओखलढुंगा । भूकम्प पीडितबाट घुस लिएको आरोप लागेका पुनःनिर्माणका प्राविधिकलाई जागीरबाट बर्खास्त गरिएको छ । मोलुङ गाउँपालिका–६ श्रीचौरका लाभग्राहीबाट गैरकानूनी हिसाबले रकम लिएका पुनःनिर्माणका प्राविधिक मनोज खतिवडालाई जागिरबाट निकालिएको हो । 

    मापदण्ड विपरीत बनेका घर पास गर्नका लागि प्राविधिक खतिवडाले लाभग्राहीबाट रकम लिएका थिए । पहिलो र दोस्रो किस्ता लिइसकेका तर अन्तिम किस्ता लिन बाँकी लाभग्राहीबाट खतिवडाले रु १० देखि १५ हजारका दरले गैरकानूनी ढंगले रकम असुलेको पाइएको समाचार आइरहेको थियो ।

    स्थानीयवासीको गुनासोसहितका समाचार सार्वजानिक भएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले छानबिन थालेका थिए ।

    छानबिनका क्रममा लाभग्राहीबाट लाखौंँ रकम उठाएको प्रमाण फेला परेपछि प्राविधिक खतिवडालाई जागीरबाट बर्खास्त गरिएको जिल्ला आयोजना कार्यालयका निमित्त प्रमुख रीता लम्सालले जानकारी दिइन्।  

    लाभग्राहीबाट रकम उठाएको विषयमा अनुसन्धान गर्दा प्राविधिकले रकम उठाएको पुष्टि भएको र आरोप लागेका प्राविधिक आफैँले पनि गल्ती स्वीकारेपछि लाभग्राहीबाट लिएको रकम फिर्ता गर्ने शर्तसमेत राखेर जागीरबाट बर्खास्त गरिएको निमित्त प्रमुख लम्सालको भनाइ छ । ‘जसको पैसा हो उसैलाई फिर्ता दिनू भनेका छाँैं ।’ निमित्त प्रमुख लम्सालले भनिन्, ‘जागीरबाट पनि बर्खास्त गरिसकेका छौंँ ।’ 

    श्रीचौरमा खटिएका डकर्मी कर्णबहादुर तामाङ र प्राविधिक खतिवडाले भूकम्पपीडित लाभग्राहीबाट घर पास गर्न घुस रकम लिएको भन्दै लाभग्राहीले गुनासो गरेका थिए । श्रीचौरका करीब ३० लाभग्राहीबाट डकर्मी तामाङ र खतिवडाले रु १० देखि १५ हजारका दरले रकम उठाएको खुलेको छ । 

    प्राविधिक खतिवडाले स्थानीयवासीबाट रकम उठाउन पुनःनिर्माणमा खटिएका डकर्मी  तामाङलाई परिचालन गरेका थिए । डकर्मी तामाङलाई पनि कारवाहीको प्रक्रिया थालिएकोे जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नागरिकले खबरदारी गरेमा यस्ता गलत कार्य नहुने जनाउँदै जिल्लाका अन्य ठाउँमा पनि त्यस्तो भएको भए जानकारी गराउन जिल्ला आयोजना कार्यालयले आग्रह गरेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार