काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायाकेले पुन: सोही जिम्मेवारीमा फर्कन चाहेका छन् । यसअघिको प्रशिक्षकको रुपमा सफल कार्यकाल बिताएका पुबुदुले नेपाली टोलीको मुख्य प्रशिक्षकको हैसियमा फेरि नेपाल आउन चाहेको थाहा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षक लगायत अन्य पदका लागि आवेदन आव्हान गरेकोमा पुबुदुले निवेदन दिएको क्यान निकट स्रोतले जानकारी दिएको छ । क्यानले नेपाली टोलीको लागि मुख्य प्रशिक्षक, जनरल मेनेजर, क्रिकेट मेनेजर, फाइनान्स मेनेजर लगायतको पदका लागि आवेदन मागेको हो ।
पुबुदुलगायत अन्य चर्चित व्यक्तिले पनि नेपाली टोलीको मुख्य प्रशिक्षक बन्नका लागि आवेदन दिएको ती स्रोतले दावी गरेका छन् ।
पुबुदुले आफ्नो कार्यकालमा नेपाललाई डिभिजन-४ बाट एकदिवसीय राष्ट्र बनाउन सकेका थिए । यो बीचमा उनले युवा खेलाडीहरुको उत्पादनमा समेत समय खर्चेका थिए । उनले सन्दीप लामिछानेलाई चितवनमा नै गइ यू-१९ विश्वकपको लागि सिधै छनोट गरेका थिए । हाल सन्दीप विश्वका हरेक फ्रान्चाइज टी-२० लिगहरु खेलिरहेका छन् ।
यस्तै करन केसी, दीपेन्द्र ऐरी, रोहित पौडेल, सोमपाल कामी लगायतका खेलाडी पनि पुबुदुकै निगरानीमा सफल भएका हुन् ।
पुबुदुले नेपालको प्रशिक्षको जिम्मेवारी छोडेपछि अमेरिकी क्रिकेट टोलीको प्रशिक्षक बनेका थिए । उनी तीन वर्षसम्म सो टोलीको प्रशिक्षक भइ अमेरिकालाई पनि तेस्रो डिभिजनबाट पहिलो डिभिजनसम्म ल्याउन सफल भए । त्यो बाहेक पनि उनी फ्रान्चाइज टोलीहरुको प्रशिक्षकको रुपमा कार्यरत छन् ।
उनले पुन: नेपाली टोलीको प्रशिक्षक बन्न चाहनुलाई नेपाली क्रिकेटका जानकारहरुले सुखद भनेका छन् । यसअघि क्यानसँगको मनमुटावको कारण राजीनामा दिएका कारण उनी पुन: प्रशिक्षकका रुपमा छनोट हुने/नहुनेमा अन्योल भने रहेको बताइन्छ ।