Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ५०७ कैदीबन्दीमा सङ्क्रमण पुष्टि


    बुधबार, असोज ७ २०७७
    745
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लहान । एकैपटक ५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समस्यामा परेको सिरहा कारागारलाई एक सामाजिक संस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । ४१औँ सामाजिक सेवा दिवसको अवसरमा मुक्ति नेपाल संस्थाले कारागारका सङ्क्रमित कैदीबन्दीका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो ।

    मुक्ति नेपालका अध्यक्ष श्याम साहले कैदीबन्दीका लागि एक हजार थान मास्क, एक लिटर स्यानिटाइजर र महिला कैदीबन्दीका लागि २० थान झुल कारागार प्रमुख बबिता महतोलाई हस्तान्तण गरे । एकैपटक अधिकांश कैदीबन्दीमा कोरोना सङ्क्रमण देखिएपछि केही सहयोग होस् भन्ने उद्देश्यका साथ प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरिएको अध्यक्ष साहले जानकारी दिए।

    कूल १२५ कैदीबन्दीको क्षमता रहेको सो कारागारमा हाल ५९९ कैदीबन्दी छन् । कारागारमा रहेका ५९९ कैदीबन्दीमध्ये हालसम्म ५०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कारागार प्रशासनले जनाएको छ । एकैपटक ५०० भन्दा बढी कैदीबन्दीमा कोरोना सङ्क्रमण भएपछि व्यवस्थापनमा कठिनाइ भइरहेको कारागार प्रमुख महतोको भनाइ छ । सङ्क्रमित सबैलाई कारागारभित्रै राख्नुपर्ने बाध्यताका कारण जोखिम बढेको छ ।

    “कारागारमा रहेका बाँकी ९२ कैदीबन्दीमा कोरोना सङ्क्रमण देखिएको छैन”, कारागार प्रमुख महतोले भने, “सङ्क्रमित कैदीबन्दीलाई कारागारमै राखिएका कारण बाँकी कैदीबन्दीमा पनि सङ्क्रमित हुने जोखिम बढेको छ ।” सङ्क्रमित कैदीबन्दीलाई सुरक्षित आइसोलेसनमा राख्नुपर्नेमा सरकारबाट निर्देशन नआउँदा कारागारभित्रै राख्नुपर्ने बाध्यता रहेको उनकाे कथन छ । एकैपटक ठूलो सङ्ख्यामा कैदीबन्दी सङ्क्रमण देखिएपछि सङ्क्रमितलाई दिनुपर्ने रोग प्रतिरोधात्मक तथा पोषणयुक्त खानाको व्यवस्था मिलाउन समस्या भइरहेको उनले बताए ।
    –––

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार