Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जैसवालको पोष्टमार्टम गर्ने सरकारको निर्णय


    बुधबार, असोज ७ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । केन्द्रीय कारागारमा मृत्यु भएका ६३ वर्षीय रामलखन जैसवालको पोष्टमार्टम हुने भएको छ । मृतकका आफन्तले हत्या र अङ्ग झिकिएको आरोप लगाउँदै पोष्टमार्टमको माग गरेकाले शवको पोष्टमार्टम गर्ने निर्णय गृह मन्त्रालयले गरेको छ।

    जेल सजाय काटिरहेका जैसवालको शनिबार राति मृत्यु भएको थियो । जैसवालको आँखा झिकिएको र शरिरको विभिन्न भागमा चोट रहेको उनकी छोरी रश्मी जैसवाललगायत आफन्तले दावी गरेका थिए। मंगलबार बिहान उनीहरुले वीर अस्पतालअघि प्रदर्शन पनि गरेका थिए ।

    ‘कोरोना पोजेटिभको रिपोर्ट देखाएर हत्या लुकाउने र अङ्ग झिक्ने काम भएको छ। जेलमा उहाँको हत्या भएको हुनुपर्छ। मेरो बुबाको पोष्टमार्टम गरियोस्’, रश्मीले सञ्चारकर्मीसँग भनेकी थिइन्। उनले मृतक जैसवालको शवलाई नजिकैबाटै खिचिएका तस्विर पनि सार्वजनिक गरेकी छिन्।

    पार्किन्सन र प्रेसरका विरामी जैसवालको गत शनिबार राति अन्दाजी १० बजे निधन भएको थियो। वीर अस्पतालका प्रवक्ता विद्यानिधि पौडेलले जैसवाललाई अस्पताल ल्याइपुर्‍याउनुअघि नै उनको मृत्यु भैसकेको र त्यसपछि कोरोना परीक्षण गरिएको बताए। ‘अस्पताल ल्याउनुअघि नै उनको मृत्यु भैसकेको थियो। त्यसपछि कोरोना परीक्षण गर्ने काम भयो। सोमबार रिपोर्ट पोजेटिभ आयो। उनको शरिरमा त्यस्तो कुनैपनि चोट छैन’, पौडेलले भने।

    यता केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटाले आरोपहरु झुट्टा भएको दावी गरे। उनले जैसवाललाई सास फेर्न समस्या भएपछि शनिबार राति १० बजे वीर अस्पताल लगिएको बताए। जेलबाट निस्कँदा उनी नमस्कार गर्दै विदा भएको र शरिरमा कुनैपनि किसिमको चोट नदेखिएको हाम्रो सिसिटिभी फुटेजमा देखिन्छ’, बास्कोटाको दावी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार