गोपी मैनाली र भेषप्रसाद भूर्तेल
काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयमा कमसल सफ्टवेयर किन्न भूमिका खेलेको आरोप लागेका भेषप्रसाद भूर्तेललाई सरकारले पदक दिएको छ । सिग्यास नामको सफ्टवेयर बनाएर सबै सरकारी कार्यालयलाई लाद्न थालेपछि त्यो सफ्टवयरले राम्ररी काम गर्न सकेन । फलतः साउनको तलब भदौ बितिसक्दा पनि खुवाउन नसक्ने अवस्था भयो । यस्तो कामको मुख्य जिम्मेवार महालेखा नियन्त्रक गोपी मैनालीलाई शिक्षा मन्त्रालयमा सचिवको जिम्मेवारी र उपमहालेखा नियन्त्रक भेषप्रसाद भुर्तेललाई पनि प्रबल जनसेवा श्री (चतुर्थ) बाट विभूषित गर्दा आफूहरूको शीर निहुरिएको महालेखाका कर्मचारीहरुको टिप्पणी छ ।
चर्चित व्यक्तिलाई पदक दिने हेइन, पदक पाएर चर्चित हुने चलन बढ्दै गएको र अझ जसले पत्रपत्रिकामा कर्तुत गरेका कुरा पर्दाफास भइरहेका छन्, उनीहरुले फेसवुकका पाना आफै रंगाएको देख्दा लाज लागेर आउन थाल्यो भनी एक कर्मचारीले सामाजिक सञ्जालमै असन्तुष्टि पोखेका छन् ।
सफ्टवेयर अपग्रेड गर्ने नाममा भूर्तेलले नेतृत्व गरेको टिमको जालझेलका कारण निजामती कर्मचारी, कोरोना कहरमा फ्रन्ट लाइनमा खटिएका सुरक्षाकर्मी, कर्मचारी, स्वाथ्यकर्मीले जोखिम भत्ता त परको कुरा, नियमित तलबसमेत दुई महिनासम्म पाएनन् ।
देशभरका पाँच हजार निजामती कर्मचारी, सात हजारभन्दा बढी सुरक्षाकर्मी, ३७ हजारभन्दा बढी जनप्रतिनिधि, दुई लाख पेन्सनर गरी पाँच लाखभन्दा बढी मारमा पार्नेलाई यसचोटि सरकारले पदक दिएको आरोप छ ।