Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खाद्यान्न अभाव हुन नदिन सरकारले एक लाख टन चामल र १० लाख टन धान आयात गर्दै


    शनिबार, साउन २० २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौँ। सरकारले खाद्यान्न अभाव हुन नदिन तत्काल एक लाख मेट्रिकटन चामल र १० लाख मेट्रिकटन धान ल्याउने निर्णय गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्रप्रसाद ठाकुरले पछिल्लो समय भारतले बासमतीबाहेकको चामल निर्यातमा प्रतिबन्ध लगाएपछि खाद्यान्न अभाव हुन नदिन धान र चामलसहित ५० हजार मेट्रिकटन चिनीसमेत ल्याउन लागेको बताए ।

    व्यवसायीहरूले तीन महिनासम्मका लागि चामलको मौज्दात रहेको जानकारी दिएपनि सम्भावित अभाव र मूल्यवृद्धिलाई रोक्न तत्काल चामल ल्याउन लागेको उनको भनाइ छ । सरकारले कुन विधि र प्रक्रियामार्फत चामल आयात गर्ने भन्ने निर्णय गर्न बाँकी नै छ । जिटुजीमार्फत वा खाद्य व्यापार कम्पनीमार्फत ल्याउन सकिनेबारे छलफल भइरहेको उनले बताए । पछिल्लो समय चिनीको उत्पादन कम भएको र गत वर्ष ल्याएको ४० हजार मेट्रिकटन चिनी सकिएको हुँदा थप ५० हजार टन ल्याउँदा पर्याप्त हुने तथा माग र आपूर्तिको सन्तुलन मिलाउन सकिने ठाकुरको दाबी थियो ।

    एक लाख मेट्रिकटन चामल तत्कालै सरकारद्वारा सरकारमार्फत (जिटुजी) प्रक्रियामार्फत ल्याउने निर्णय भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होमनाथ भट्टराईले जानकारी दिए । उनले भने, ‘हाम्रो धान उत्पादन ५५–५६ लाख मेट्रिकटन हो, माग ६५ देखि मेट्रिकटनको छ, त्यसैले १० लाख मेट्रिकटन धान ल्याउने तयारी गरिएको हो ।’

    भारतले चामल निर्यातमा रोक लगाएपछि साउन ४ र ६ गते मुख्य सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकमा खाद्यान्न आपूर्तिको सहज व्यवस्थापनका विषयमा छलफल भएको थियो ।

    त्यसक्रममा मुख्यसचिव अर्यालले देशमा उपलब्ध गोदाममा आवश्यक खाद्यान्न भण्डारणको व्यवस्था गर्नसमेत निर्देशन दिएका थिए । सोहीअनुसार तत्काल चामल र धान ल्याउने तयारी भएको विभागले जनाएको छ । नेपाल चामल, तेल–दाल उद्योग संघका सदस्य नरेश राठीले १० लाख मेट्रिकटन धान भए पुग्ने बताए ।उनका अनुसार भारतले हरेक वर्ष कात्तिक–मंसिरसम्मका लागि करिब ६ लाख मेट्रिकटन धान नेपालमा निर्यातका लागि कोटा छुट्याउँदै आएकोमा यसपटक साउनमै कोटा पूरा भइसकेको छ । उनले भने, ‘अघिल्लो वर्ष ६ लाख कोटामा साउनसम्म मात्र पुग्यो, त्यसैले यसपटक १० लाख भए कात्तिक–मंसिरसम्म पुग्छ भनेर सोहीअनुसार प्रस्ताव गरेका थियौँ ।’ बढी खपत हुँदा यसपटक कोटाको धान आइसकेको र अहिले चामलको मूल्य बढेको उनको भनाइ छ ।

    चामल निर्यातमा रोक लगाउँदा मागअनुसार आपूर्तिमा केही असहज भएको तथा भारतले धानको मूल्य प्रतिकिलो तीन रुपैयाँ भारुले बढाएको कारण मूल्यमा असर गरेको उनले दाबी गरे । तत्काल धान र चामल नल्याउने हो भने चाडपर्वका वेलामा चामल अभाव हुने र मूल्य झनै बढ्न सक्ने राठीले बताए ।

    भारतले दुई हप्ताअघि नेपाललगायत विभिन्न देशमा बासमतीबाहेकको चामलमा प्रतिबन्ध लगाएपछि व्यापारीहरूले चामलको मूल्य बोरामै दुई सय रुपैयाँसम्म बढाएका छन् । उपभोक्ता अधिकारवादी ज्योति बानियाँले चामलको मूल्य सर्वाधिक बढेको हुँदा उपभोक्ता मारमा परेको बताए । उनले भने, ‘विभागसँग अहिले अनुगमन गर्ने जनशक्तिको अभाव देखिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार