Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एक महिनाभित्र युरिया मल आउने


    मंगलबार, असोज ६ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • वीरगञ्ज । पर्सामा विगत दुई महिनादेखि युरिया मलको अभाव छ । मलको अभाव खपिरहेका किसानले अबको एक महिनाभित्र सो मल पाउने भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले जनाएको छ । बङ्गलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक टन युरिया मल सापटीमा ल्याउन लागेकाले सो मल एक महिनाभित्र आइपुग्ने कार्यालयका प्रबन्धक गोरखनाथ केसीले राससलाई बताउनुभयो । उहाँले बङ्गलादेशबाट नेपालको लागि आउने ५० हजार मेट्रिक टन युरिया मलमध्ये पर्सा जिल्लाका लागि २५ हजार मेट्रिकटन हुने भएकाले लामो समयदेखि देखिएको मलको अभाव समाप्त हुने बताउनुभयो । सो कार्यालयले धान खेतीलाई लक्षित गरी पर्सा जिल्लामा असारसम्म युरिया मल विक्री गरेको थियो तर मल सकिएकोले सोको अभाव हुन गएको हो ।

    सो कार्यालयले प्राप्त गरेको मल प्रदेश नं २, ३ र ४ को १६ वटा कार्यालयमा पठाउँदै आएको छ । यसैगरी सो कार्यालयले आर्थिक वर्ष २०७६÷०७७ मा युरिया र डएपी मल छ÷छ हजार मेट्रिक टन तथा पोटास सात सय टन बिक्री गरेको छ । गत पुस महिनामा मल ल्याउने ठेक्का पाएका शैलुंग इन्टरप्राइजेज र होनीको मल्टिपलले समयमा रासायनिक मल ल्याउन नसक्दा युरिया मलको अभाव देखिएको हो । मन्त्रालयले सापटीमा मल ल्याउन अनुमति दिएपछि कृषि सामग्री कम्पनी लिमिटेडले सात दिनको समय राखेर बोलपत्र (टेण्डर) आह्वान गरिसकेको छ । समयमा रासायनिक मल नआउँदा यस भेगमा गरिने मकै, धान, मसुरो लगायत वर्खेबाली खेती प्रभावित हुने किसानको भनाइ छ । पर्सामा ४६ हजार हेक्टरमा धान खेती हुँदै आएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार