Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • परराष्ट्रमन्त्री साउदले भने- प्रशासनको पद्दतिअनुसार राजदूत सिफारिस, समावेशी बनाउँदै लैजान्छौँ


    बुधबार, साउन १७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले राजदूत नियुक्तिको लागि नाम सिफारिस गर्दा समावेशी सिद्धान्तलाई सम्बोधन गर्दै जाने उल्लेख गरेका छन् । आज बसेको संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठकमा उनले उक्त कुरा बताएका हुन् ।

    केही दिनअघि सरकारले गरेको ६ देशको लागि राजदूतको सिफारिस समावेशी नभएको भन्दै समितिले परराष्ट्रमन्त्री सादउलाई बोलाएको थियो ।

    “नेपाल सरकारको प्रतिवद्धताअनुसार नेपालको संविधानको मर्म र भावनाअनुरुप समावेशी सिद्धान्तलाई आत्मसात गर्दै सबै प्रकारको नियुक्तिहरुमा समावेशी बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको छ,” परराष्ट्रमन्त्री साउदले भने ।

    राजदूत नियुक्ति गर्दा समावेशी सिद्धान्तलाई यथोचित रुपमा सम्बोधन गर्दै लैजान सरकार पूर्ण प्रतिवद्ध रहेको उनले बताए । सरकारले केही दिनअघि परराष्ट्र मन्त्रालयका ६ जना सहसचिवको नाम राजदूतमा सिफारिस गरेको थियो ।

    न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी नियोगका लागि लोकबहादुर थापा, जेनेभास्थित राष्ट्रसंघीय स्थायी नियोगका लागि रामप्रसाद सुवेदी, फ्रान्सको लागि सुधीर भट्टराई, थाइल्यान्डको लागि धनबहादुर ओली, युनाइटेड अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री र कुवेतको लागि घनश्याम लम्सालको नाम सरकारले राजदूतमा सिफारिस गरेको थियो ।

    हाल २६ देशमा कार्यरत नेपाली राजदूतमा तीनजना महिला, चारजना जनजाति, एक मधेसी र अपाङ्गता भएका एकजना व्यक्ति रहेको बैठकमा परराष्ट्रमन्त्री साउदले जानकारी दिए । बैठकमा उनले सरकारले जारी गरेको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ अनुसार राजदूत सिफारिस गरेको दाबी गरे ।

    निर्देशिकाको दफा ३ को उपदफा (च)मा समावेशी सिद्धान्तलाई दृष्टिगत गर्दै राष्ट्रको प्रतिनिधित्व, प्रतिष्ठा र हित प्रवद्र्धन हुने गरी कूटनीतिक क्षमता, विशिष्टिकृत शैक्षिक योग्यता र अनुभवका आधारमा राजदूत नियुक्तिको सिफारिस गरिनेछ भन्ने व्यवस्था रहेको उनले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार