काठमाडौं । अनशनरत वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेको छ। उनी महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बस्न चाहेपनि प्रहरीले बलपूर्वक उनलाई ट्रमा सेन्टर लगेको हो ।
जुम्लामा ९ दिनअघि अनशन सुरु गरेका वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीलाई आजै हवाइमार्गबाट काठमाडौं ल्याइएको हो ।
उनलाई प्रहरीले एम्बुलेन्सबाट बल प्रयोग गरेर निकालेपछि उनले केपी शर्मा ओलीको गुण्डागर्दी भएको भन्दै उनीविरुद्ध मुर्दावादको नारा समेत लगाएका थिए।
यसअघि डा. केसी उन्नाइसौं सत्याग्रहका लागि पुन: जुम्ला नै पुगेका थिए ।
डा.केसीले भने दुई वर्षअघि जुम्ला प्रतिष्ठानमा भएको हिंसात्मक घटना पुनः नदोहोरियोस् भनेर काठमाडौं आउने निर्णय गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
काठमाडौं आइपुगेपछि पनि सत्याग्रह जारी राख्ने उनले उल्लेख गरेका छन् ।
चिकित्सा शिक्षा क्षेत्रमा सुधारसहित विभिन्न समसामयिक माग राखेर अनशन बस्दै आएका डा. केसीको यो उन्नाइसौं अनशन हो ।