काठमाडौं । कोरोना संक्रमणबाट काभ्रेको पनौती नगरपालिका- ५ चौकोटकी एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ ।
५० वर्षीया ती महिलाको कोरोना सङ्क्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि मृत्यु भएको कोभिड-१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले बताए । उनका अनुसार आमाशयको क्यान्सर रोगी महिला धुलिखेलमा उपचार गर्न आउनुअघि काठमाडौं मेडिसिटी अस्पतालमा ‘केमो’ लिने गर्दै आएकी थिइन् ।
योसहित काभ्रेपलाञ्चोकमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष रहेका छन् ।
हालसम्म काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाका दुई, पाँचखाल नपाका एक र धुलिखेल नपाका दुईको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो ।
हालसम्म काभ्रेपलाञ्चोकका ४ सय ६९ मा कोरोना सङ्क्रमण देखिएको छ । पोष्टका अनुसार संक्रमितमध्ये ३ सय १२ जना उपचारपछि घर फर्किएका छन् ।