काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबीच कुरा नमिल्दा एसएसपीको सरुवा अवरुद्ध भएको छ । एक महिनादेखि एसएसपी सरुवाको कसरत गर्दैआएका आइजीपी थापा काठमाडौं प्रहरी परिसरका प्रमुख श्याम ज्ञवालीलाई चलाउन चाहँदैनन् । तर गृहमन्त्री थापा काठमाडौं परिसरमा एसएसपी अशोक सिंहलाई सरुवा गर्ने पक्षमा देखिएका छन् । आइजीपी थापा ५ महिनामै ज्ञवालीलाई तान्ने पक्षमा छैनन् । ज्ञवाली २०७७ बैशाख ९ मा काठमाडौं परिसरमा सरुवा भएका थिए । जुनबेला उनका दाजु ठाकुर ज्ञवाली आइजीपी थिए । ज्ञवालीबाहेक ललितपुर, ट्राफिक महाशाखा, बुटवल तालिम केन्द्र लगायतका एसएसपीको एक बर्ष अवधि २०७७ भदौ १३ मै पुगिसकेको छ ।
स्रोतका अनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुखमा पठाउने एसएसपीको बिषयमा पनि सहमति हुन सकेको छैन । महानगरीय ट्राफिकमा एसएसपी किरण बज्राचार्यलाई लैजानेबारेमा पनि सहमति हुन सकेको छैन । बज्रचार्य ललितपुर परिसर वा ट्राफिक महाशाखामा जाने दौडधूपमा छिन् । तर गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने उनलाई ती दुवै ठाउँमा सरुवा नगर्ने पक्षमा छन् । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले दुर्गा सिंहलाई ललितपुर परिसरमा लैजान खोजेका छन् ।
अर्कोतिर आगामी माघमा ३० बर्षे सेवावधिका कारण अवकाश हुन लागेका बुटवल तालिम केन्द्रका एसएसपी गणेश रेग्मीलाई यथावत राख्न आइजीपी थापालाई मुख्यसचिव लोकदर्शन रेग्मीले चर्को दबाब दिइरहेका छन् । प्रहरी भर्नाको समय आएकाले एसएसपी रेग्मी माघसम्म थमौती हुन मुख्यसचिव रेग्मीको शरणमा पुगेका छन् । प्रहरी भर्नामा ठूलो आर्थिक चलखेल गर्नकै लागि उनी अवकाशको मुखमा सरुवा रोक्न दौडधूपमा छन् । तर आइजीपी थापा भने अवकाशको मुखमा भर्नामा चलखेल गर्नसक्ने र त्यसले संगठनको बदनाम हुने भएकाले उनलाई सरुवा गर्न चाहिरहेका छन् । आगामी माघमा एसएसपी रेग्मीसहित ५ नम्बर प्रदेश प्रहरी कार्यालयका एसएसपी राजकुमार बैदवार पनि ३० बर्ष अवधिले बिदा हुँदैछन् । १ नम्बर गणका गणपति एसपी राजेन्द्र बिष्ट पनि अवकाश हुनेछन् । आइजीपी थापाले इन्चार्जबाट इन्चार्ज नदिने भाषण गरे पनि बिष्टलाई पोखरा गणबाट १ नम्बर गणको इन्चार्जमा सरुवा गरेका थिए । बिष्टले १ नम्बर गणमा समेत जोड्दा एसपीमा ४ पटक इन्चार्ज पाइसकेका छन् । अरु एसपीले २ वटा इन्चार्ज पनि पाउँदैनन् । तर उनले ४ पटक पाए ।
ज्ञवालीको बिकल्प किन खोजिंदैछ ?
काठमाडौं परिसरका एसएसपी श्याम ज्ञवाली उनका आइजीपी नभएको भए चिनियाँहरुले सिंहदरवारमा निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरीमाथि जस्तो दुब्यर्वहार गरे, त्यतिबेलै तानिने थिए । २०७७ बैशाख २७ मा चिनियाँहरुले सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गरेका थिए । चिनियाँहरु घर जान पाउनुपर्ने माग राख्दै ‘वी वान्ट टु गो ब्याक होम’ लेखेको प्लेकार्ड बोकेर निषेधित क्षेत्र तोडी सिंहदरबारतर्फ आएका थिए । उनीहरूले प्रहरीको लाठी खोसेर प्रहरीलाई नै हिर्काएका थिए । प्रहरीमाथि हातपात गर्ने परिस्थिति निम्तनुमा एसएसपी ज्ञवाली नै जिम्मेवार भएकाले उनलाई तान्ने दबाब परे पनि दाजु आइजीपी भएकाले उनी कारबाहीबाट जोगिए ।
ज्ञवालीले न्यूरोडबाट १० लाख लुटपाट आरोपमा तल्लो दर्जाका प्रहरीलाई मुद्दा चलाए । तर हुन्डी कारोबारी विकास अग्रवाललाई उन्मुक्ति दिए । हुन्डी कारोबारीसँग मोटो रकम घुस लिएर उन्मुक्ति दिएको आरोप ज्ञवालीमाथि लाग्दैआएको छ । परिसरका डीएसपी देवी पौडेलमार्फत् ज्ञवालीले अग्रवालसँग ठूलो रकम घुस लिएर लमजुङमा रहेका सूचना दिने सौरभ अधिकारी र समृद्धि सहकारीकी कर्मचारी रेणु श्रेष्ठलाई काराबास पठाएका छन् । पछि हुन्डी कारोबारी विकास अग्रवालको संलग्नता १५ किलो नक्कली सुन प्रकरणमा पनि खुल्यो । भारतीय नागरिक निलेश सखिया र संजय पटेलले हुन्डीको माध्यमबाट भारतबाट विकास अग्रवालकै नाममा पैसा पठाउने गरेको अनुसन्धानका क्रममा खुलेपछि डीएसपी देवी पौडेलले अग्रवाललाई भगाएका छन् । यदि सुनप्रकरणको निष्पक्ष छानबिन गर्ने हो भने विकास अग्रवाल खतरनाक हुन्डी कारोबारी भएको र उनको कनेक्सन अन्डरवल्र्डसम्मै रहेको खुल्ने भएपछि डीएसपी पौडेलले उनलाई भगाएका छन् ।
१० लाख लुटपाटमा निरीह प्रहरी र अग्रवालको हुन्डी कारोबारको सूचना दिने युवायुवतीलाई फसाउने प्रहरीले तिनै विकास अग्रवाललाई जाहेरीकर्ता बनाएको थियो । हुन्डी कारोबारीलाई जाहेरवाला बनाएको प्रहरीले १५ किलो नक्कली सुन प्रकरणमा अग्रवालको संलग्नता खुलेपछि उनलाई भगाएको बिषयमा प्रहरी प्रधान कार्यालयले किन छानबिन गर्दैन ? यो बिषयमा आइजीपी थापा किन चुप छन् भन्ने धेरै कोणबाट प्रश्न उठिरहेको छ ।