Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तयारी पूरा भएपनि आधिकारिक ट्रेड युनियनको निर्वाचन रोकिँदै, कारण यस्तो छ


    सोमबार, असोज ५ २०७७
    915
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएपनि निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन स्थगित हुने भएको छ ।

    आगामी असोज २४ गतेका लागि तोकिएको निर्वाचनको लागि निर्वाचन आयोगबाट मतपेटिकासमेत व्यवस्था भैसकेपनि चुनाव भने रोकिने भएको हो । यसरी अन्तिम अवस्थामा चुनाव रोकिनुको दुई कारण रहेको छ । 

    पहिलो कारण भनेको कोरोना संक्रमण रहेको बताइएको छ । कोरोना संक्रमणको प्रभाव बढिरहँदा चुनाव गर्न लागिएको भन्दै यो निर्णयको चौतर्फी आलोचना भैरहेको छ । सरकारले यतिबेला सामूहिक रुपमा भिडभाड हुने कार्यमा रोक लगाइरहेको परिप्रेक्ष्यमा चुनाव गर्न खोजेको भन्दै आलोचना भएको हो । 

    यस्तैगरी चुनावको मिति सर्नुको अर्को कारण भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक राजनीति रहेको बुझिएको छ । नेकपाले पार्टी एकीकरण गरेपनि अहिलेसम्म कर्मचारी संगठनको भने एकता हुन सकेको छैन । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमाले सम्बद्ध राष्ट्रिय निजामती संगठन र नेपाल निजामती संगठनको एकता प्रक्रिया पूरा हुन सकेको छैन । यस्तोमा चुनाव गरिहाल्नु उपयुक्त नहुने नेकपाको ठहर छ । 

    यो विषयमा आइतबारको सचिवालयको बैठकमा पनि कुरा उठेको थियो । अन्य विभागको एकता बिस्तारै गरेपनि कर्मचारी संगठनको एकता गरिहाल्ने विषयमा बैठकमा छलफल भएको थियो । तर कर्मचारी संगठनको एकताअघि चुनाव गर्न नहुने नेकपाको मत भएकाले पनि निर्वाचन सार्ने तयारी भएको बताइएको छ । 

    चुनाव स्थगित गर्नका लागि प्रधानमन्त्री कार्यालयबाट प्रक्रिया सुरु भैसकेको स्रोतले बताएको छ । यसरी स्थगित हुने निर्वाचनको मिति अर्को तोकिने कि अनिश्चित कालको लागि रोकिने भन्ने विषय निर्णय हुन बाँकी भएकाले मात्र निर्वाचन रोक्ने पत्र नपठाइएको बताइएको छ । 

    आज नै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै निर्वाचन स्थगन गर्न आग्रह गरेका थिए । उनले कोरोना संक्रमणका कारण निर्वाचनको मिति सार्न आग्रह गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार