दिनेशराज मैनाली, गंगा पन्त र ओमप्रसाद अधिकारी
काठमाडौं । नेपाल प्रहरीले सिफारिस नै नगरेका तीन एसपीले यो बर्षको तक्मा पाएका छन् । प्रहरी प्रधान कार्यालयले सिफारिस नै नगरी तक्मा पाउने शक्तिशाली एसपीत्रय गंगा पन्त, दिनेशराज मैनाली र ओमप्रसाद अधिकारी ह्ुन् । पन्त पर्साकी एसपी हुन् । मैनाली गृहमन्त्रालयमा कार्यरत छन् । अधिकारी जुुनियर तालिम केन्द्र भरतपुरमा कार्यरत छन् । उनीहरुले प्रवल जनसेवाश्री चतुर्थ पाएका छन् ।
पन्तलाई पूर्वआइजीपी सर्वेन्द्र खनालले नेकपाका सांसद महेश बस्नेतमार्फत् लबिङ गरी संगठनले सिफारिसै नगरी पदकमा नाम राख्न लगाएका हुन् । पन्तलाई खनालले नै जाँदाजाँदै पर्साको एसपीमा सरुवा गरेका थिए । उनले सुरुमा चितवन सरुवा गरे पनि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नरुचाएकाले पछि पर्सामा पठाएका थिए ।
दिनेश मैनालीले प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व जनसम्पर्क सल्लाहकार अच्यूत मैनाली र गृहमन्त्री रामबहादुर थापासँग याचना गरी तक्मा पड्काएका छन् । ओम अधिकारीलाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले तक्माका लागि गृहमन्त्री थापालाई सिफारिस गरेको स्रोतले बताएको छ । मैनाली गृहमन्त्रालयमै कार्यरत भएकाले उनको पहुँच गृहमन्त्री थापासँग पनि भएकाले तक्मा संगठनले सिफारिस नै नगरेको अवस्थामा पनि नाम पार्न सफल भएका थिए ।
त्यसैगरी, नेपाल प्रहरीमा निर्विवाद ढंगले काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका आइजीपीले पनि आफु्नै सचिवालयका प्रहरी अधिकृत वा उनीहरुका श्रीमतीलाई पदक सिफारिस गरेको देखिएको छ । उनको सचिवालयमा कार्यरत डीएसपी कवित कटुवाल, सचिवालयमै कार्यरत एसपी रमेश थापाकी श्रीमती तारा थापा, आइजीपीकै निकट पूर्वी रुकुमका डीएसपी ठगबहादुर केसी लगायतले पदक पाएका छन् । बाढीपहिरो, बिपतमा काम गरेका वा काठमाडौं बाहिरका जिल्लामा जोखिमपूर्ण काम गरेकाहरुलाई नदिई भक्तपुरभन्दा टाढा कहिल्यै नगएकी तारा थापालाई पदक दिइएको छ । पुल्चोक प्रभागमा विवादमा परेकी प्रनि चेतना पोखरेलले पनि शक्तिशाली ठाउँबाट दबाब दिएर पदक लिन सफल भएकी छन् ।